एचकेनेपाल डट कम –
काठमाडौँ। लेखक तथा स्तम्भकार दिल निशानी मगरलाई इनाम सापकोटा विवादका विषयमा निरन्तर लेख्दै र बोल्दै आएका कारण ज्यान मार्ने धम्की आएपछि उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुरक्षाको गुहार मागेका छन्।
मगरका अनुसार उनलाई एक भारतीय मोबाइल नम्बरबाट फोन गरी इनाम सापकोटा प्रकरणबारे थप कलम नचलाउन र कुनै पनि अभिव्यक्ति नदिन चेतावनी दिँदै ज्यान मार्ने धम्की दिइएको हो।
फोन गर्ने व्यक्तिले पञ्जाबी लवजमा कुरा गरेको र तुरुन्तै आफ्ना गतिविधि रोक्न चेतावनी दिएको उनले बताएका छन्।
प्रहरी अनुसन्धानका क्रममा रहेका झापाका इनाम सापकोटा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, बहालवाला न्यायाधीशहरू, उच्च प्रहरी अधिकारी र राजनीतिक नेताहरूबीच शक्ति र पैसाको चलखेल गराउने ‘हाई-प्रोफाइल’ बिचौलियाका रूपमा बाहिर आएका छन्।
उनको मोबाइल फरेन्सिक जाँच र ह्वाट्सएप च्याटहरूबाट अदालतका मुद्दा मिलाउने, ठेक्कापट्टा र सम्पत्ति शुद्धीकरण सम्बन्धी ठूलो संजाल खुलासा भएपछि यो प्रकरण अहिले निकै विवादित बनेको छ।
आफूलाई सीधा ज्यान मार्ने धम्की आए तापनि मगरले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतामा कुनै पनि सम्झौता नगर्ने र पछि नहट्ने दृढ अडान राखेका छन्।
उनले आफ्नो सुरक्षा सुनिश्चितता र यस प्रकारको आपराधिक धम्की दिने तत्वमाथि कडा कानुनी कारबाहीको माग गर्दै प्रधानमन्त्री बालेन शाहको सल्लाहकार टोलीका वरिष्ठ सदस्यहरू तथा सरकारी अधिकारीहरूलाई विस्तृत जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
विचार र अभिव्यक्तिका आधारमा यसरी ज्यान मार्ने धम्की आएको घटनाप्रति पत्रकारिता जगत् र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गम्भीर चिन्ता र चासो व्यक्त गर्दै यसलाई स्वतन्त्र आवाज र सुरक्षामाथिको सिधा प्रहारका रूपमा लिएका छन्।


