‘सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तीव्र’

–

काठमाडौँ । सरकारले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि कारबाही तीव्र पारेको छ। सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागुऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र तुल्याएको हो।

सशस्त्र प्रहरीका अनुसार वर्तमान सरकार गठन भएयता हालसम्म सीमा क्षेत्रबाट रु एक अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ बराबरको अवैध सामग्री बरामद गरेको छ । उक्त अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने आठ जना पक्राउ परेका छन्।

त्यस्तै, लागुऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् । निजहरूबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागुऔषध बरामद गरिएको छ।

मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् । त्यसमा संलग्न ९१ जना अभियुक्त पक्राउ परेका छन्।

सीमा अतिक्रमण नियन्त्रणतर्फ दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना र १७ स्थानको सात दशमलव ४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ । यसैगरी, २०४ स्थानमा ९४ दशमलव ५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ।

सीमावासीसँगको सम्बन्ध र जनचेतना अभिवृद्धिका लागि त्यस अवधिमा दुई हजार ८०६ कार्यक्रम सञ्चालन गरिएको छ । विभिन्न स्थानमा रहेका १४१ सहायता कक्षबाट तीन लाख ४९ हजार ९०८ र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएको सरकारले जनाएको छ। रासस





Comments

comments

141946