कास्की । नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ।
पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा यही कात्तिक २३ गते लेकसाइडको गौरीघाटमा उत्सव आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले देउसीभैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए । आधुनिकताको प्रभावले देउसीभैलोको मौलिक स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
उनले यस्ता कार्यक्रमले संस्कृति संरक्षणसँगै पोखरा आउने विदेशी पर्यटकलाई नेपाली तिहार र संस्कृतिबारे प्रत्यक्ष जानकारी गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संस्कृति संरक्षणलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने बताए । पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराको प्रत्यक्ष अनुभव गराउन सांस्कृतिक उत्सव प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ।
उत्सवस्थलमा सयपत्री फूल र सेलरोटीका प्रदर्शनी कक्षसमेत राखिने जानकारी दिँदै उनले यसबाट तिहारको सांस्कृतिक तथा खानपानको परम्परालाई पर्यटकमाझ चिनाउन सहयोग पुग्ने बताए।
पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना हुने उत्सवले पर्यटकलाई नेपाली संस्कृति नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । हिमाल, ताल र प्राकृतिक सौन्दर्यका साथै स्थानीय संस्कृति, चाडपर्व र जीवनशैलीको अनुभवसमेत पर्यटकलाई गराउन सके पोखराको पर्यटन थप विविधतायुक्त बन्ने पर्यटन व्यवसायीको विश्वास छ।
पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीका अनुसार उत्सवमा विभिन्न जातजातिका १० समूहले आआफ्नो मौलिक वेशभूषा, परम्परागत भाका र शैलीमा देउसीभैलो प्रस्तुत गर्नेछन् । सहभागी समूहको मौलिकता, परम्परागत शब्द, लय, ताल, वेशभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ।
पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले उत्सवले पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। पर्यटन प्राकृतिक दृश्यावलोकनमा मात्र सीमित नभई स्थानीय संस्कृति, परम्परा, खानपान र जीवनशैलीको अनुभवसमेत भएकाले यस्ता कार्यक्रमले पोखराको पर्यटनलाई थप आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट समूहलाई रु २५ हजार, ट्रफी र प्रमाणपत्रसहित ‘देउसीभैलो च्याम्पियन’ घोषणा गरिने आयोजकले जनाएको छ। रासस


