एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा: तिहारको तेस्रो दिन आज घर–घरमा दीपावली गरिँदै

–

काठमाडौँ, नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज देशभर कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ। तिथिको घटबढका कारण यस वर्ष यो दुर्लभ संयोग जुरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार आज बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गरिएको छ भने साँझ औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना र दीपावली गरिँदै छ।

बिहान यमदूतका रूपमा कुकुरको पूजा
आज बिहान घर–घरमा सुरक्षाकर्मी एवं वफादार जनावर कुकुरको पूजा गरी माला लगाइदिने र मीठा–मीठा परिकार खान दिने कार्य गरिएको छ। धार्मिक मान्यता अनुसार कुकुरलाई यमराजको दूत र भैरवको वाहनका रूपमा पुज्ने गरिन्छ। काठमाडौँको केन्द्रीय कुकुर विद्यालय लगायतका सुरक्षा निकायहरूमा पनि विशेष समारोहका बीच कुकुरहरूको कौशल प्रदर्शन र पूजा गरिएको छ।

साँझ ऐश्वर्यकी देवी लक्ष्मीको स्वागत
आज साँझ घर, पसल र व्यावसायिक प्रतिष्ठानहरूमा सफासुग्घर गरी महालक्ष्मीको भव्य पूजा आराधना गरिँदै छ। लक्ष्मीलाई स्वागत गर्न घरको मूल ढोकादेखि पूजाकोठासम्म रातोमाटो र गाईको गोबरले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीको पाइला (पाइला चिह्न) बनाउने परम्परा छ। आजको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ। साँझ दीप प्रज्वलन गरी घर–आँगन झिलिमिली पारिन्छ।

महालक्ष्मी पूजाको विधि र सङ्कल्प
आजका दिन सन्ध्याकालमा दीप, कलश र गणेशको पूजा गरी धनकी देवी महालक्ष्मी, कुवेर र सरस्वतीको पूजा गर्ने विधान छ। यस दिन गरिने दिगो दीप प्रज्वलनले घरबाट दरिद्रता नाश भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने जनविश्वास रहेको छ। लक्ष्मीपूजा सकिएपछि विशेषगरी युवतीहरू घर–घरमा पुगेर भैलो खेल्ने चलन छ।

महालकवि देवकोटाको ११८ औँ जन्मजयन्ती
आजैका दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती (लक्ष्मी जयन्ती) पनि मनाइँदै छ। वि.सं. १९६६ साल कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) का दिन जन्मिएका देवकोटाको सम्झनामा देशभर विभिन्न साहित्यिक कार्यक्रमहरू भइरहेका छन्।





Comments

comments

142122