नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। कोलोराडो निवासी नेपालीहरुले दोश्रो महान चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको शहरहरु बोल्डर, लङमन्ट र अरोरामा देउसी भैलो खेलिने भएका छन्।
कोलोराडोमा कृयाशील नेपाली घरको आयोजनामा तथा रकि माउन्टेन फ्रेन्डस् अफ नेपाललगायत अन्य स्थानीय संघ संस्थाको सहयोगमा अक्टोबर २९ देखि देउसी भैलो खेलिन लागेको हो।
बिशेष गरि नयाँ पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृति तथा भेष भूषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको र यस्ता कार्यक्रमले मातृभूमि प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृति पहिचाहन गराउने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन्।
यसरी देउसी भैलो खेलिने स्थानहरुमा अक्टोबर २९ सांझ ६ देखि ९ बजेसम्म लङमन्टस्थित एभरेष्ट रेष्टुरेन्टमा, अक्टोबर ३० सांझ ७ देखि ९ बोल्डरस्थित बुइना भिष्ता कम्यूनिटी सेन्टरमा, त्यस्तै गरी कोलोराडोको दक्षिणी क्षेत्र अरोरामा अक्टोबर २९ सांझदेखि तिहार भरी बिभिन्न घरहरुमा घरदैलो कार्यक्रम गरि देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका कोषाध्यक्ष जगदिश ढकालले बताएका छन्।
देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्यमान्य, कलाकार, पत्रकार, बुद्धिजीवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ। हाम्रो धर्म, संस्कृति संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकले सकेसम्म सबैलाई आआफ्नो जातीय पहिरन लगाई, बालबलिकाहरुलाई पनि सहभागी गराई संस्कृति सिक्ने र सिकाउने बताबरण बनाई दिनु हुन सबैलाई आग्रह गरेको छ। छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको छ।
नेपाली घरले नेपालीहरुको भाषा, संस्कृति , रिती रिवाज, तथा भेषभूषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलोलगायत बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ। संस्थाले देउसी भैलोबाट संकलन गरिएको रकम सबै नेपाली घरको खातामा जम्मा गरिने र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गर्ने बताएको छ।