Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली कलाकारहरुसंग दशैं–तिहारको शुभकामना आदानप्रदान

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका । अक्टोबर २४, २०१६। नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार एक साँस्कृतिक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरुसंगै शुभकामना आदान प्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा बु्रमफिलस्थित लिगेसीहाई स्कूलमा सम्पन्न कार्यक्रममा हास्य कलाकार शिबहरी पौड्याल, नायक दिलिप रायमाझी, गायक रतन सुबेदी, कलाकार संगीता शर्मा, कृष्णमुरारी ढुङ्गेल, अमित कम्पोजर, लाक्पा शेर्पा, साहारा कार्की जस्ता कला तथा संगीतका पारखीहरुले आ–आफ्नो कला प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन दिए।

मातृभूमि नेपाल राष्ट्रले गुमाएको ज्ञात अज्ञात कलाकारहरुको संझनामा एक मिनेट मौनधारणपछि राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमको सुरुमा संगीता शर्माले बज्रयोगीनी नृत्य, शिबहरी पौड्याले हास्यकार्यक्रम खिचडी, प्यारोडी गायक रतन सुवेदीले सुर्केथैली,शनिबार र रातोभाले क्वाएँ क्वाएँ भन्ने बोलको गीतलाई बिभिन्न गायकहरुका स्वरमा गाएर तथा नायक दिलीप रायमाझीले पानी पर्यो असिना झर्यो, झुम्के रुमाल खै भन्ने गीतमा स्थानीय कलाकारहरु अम्बिका अधिकारी र भाबना श्रेष्ठसंग नृत्य प्रस्तुत गरेर दर्शक तथा श्रोताहरुको मन जिन्न सफल भए।

त्यस्तै अन्य प्रस्तुतीहरुमा शिबहरी पौड्यल र कृष्णमुरारी ढुङ्गेलको हास्य कार्यक्रम म्यारिज ब्यूरो, दर्पण छायां २ की नायिका साहारा कार्कीको नृत्य, अम्बिका अधिकारी र ईबु केसीको तिहारको संस्कृति झल्कने नृत्य, बाल कलाकारहरु अभ्यास भट्टराई र अनीसा भट्टराईको हुन्न बुढी भन्ने गीतमा नृत्य, तमुपेलु कोलोराडोको नृत्य प्रस्तुती र भुटानी समुदायको नृत्यलगायत स्थानीय कलाकारहरुको प्रस्तुती उल्लेखनीय रहेको थियो।

कार्यक्रममा नेपालमा भूकम्पले क्षति पुर्याएको संरचना बिद्यालय, गुम्बा, पुल निर्माणको लागि तीनकरोड भन्दा बढि सहयोग गर्ने सोलुखुम्बुमा जन्मेका कोलोराडो निवासी ईन्जिनियर तथा ब्यवसाही पेम्बा शेर्पालाई रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्यले खदा पहिर्याई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । सोही अबसरमा दर्पण छायां २ की नायिका साहारा कार्कीलाई पनि अध्यक्ष आचार्यले सम्मान गरेका थिए।

संस्थाका कल्चर सेक्रेटरी दिनेश कार्कीले संचालन गरेको कार्यक्रममा महासचिब बिनोद त्रीपाठीले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्य राखेका थिए भने, अध्यक्ष आचार्यले शुभकामना व्यक्त गर्दै अमेरीकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपाल र नेपालीको संस्कृति पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए।

कार्यक्रमको सकारात्मक पक्ष नेपाली संस्कृतिको संरक्षण र पहिचाहन गराउन हरेक बर्ष कार्यक्रमलाई निरन्तरता दिनु, राष्ट्रिय कलाकारहरुलाई सहभागिता गराउनु सहभागी सबैलाई खाना निःशुल्क उपलब्ध गराउनु मान्न सकिन्छ । सुधार गर्नुे पक्ष तोकिएको समयमा कार्यक्रम सुरु गर्न र साउन्ड सिष्टमको राम्रो ब्यबस्था गरेर मात्र कार्यक्रम गर्न सहभागीहरुले आयोजकलाई सल्लाह दिएका छन्। कार्यक्रम तोकिएको समय भन्दा २ घण्टा ढिला शुरु भएको थियो भने कार्यक्रमको दौरानमा पटक पटक साउन्ड सिष्टम बन्द हुंदा सहभागी तथा कलाकार आयोजकसमक्ष गुनासो गर्दै थिए।





Comments

comments

Leave a Reply

14731