Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युरोप लैजाने भन्दै ठग्दै…

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, ८ मंसिर। ठगी गरेको आरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले कास्की पुम्दीभुम्दीका रमेश बास्तोलासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ। युरोपेली देश स्विडेनमा वैदेशिक रोजगारका लागि लैजाने भन्दै ठगी गरेको आरोपमा ब्युरोले उनीहरुलाई पक्रेको हो।

कात्तिक २० गते एक राष्ट्रियस्तरको प्रतिष्ठित दैनिक पत्रिकामा नेक्सेलसिएर रिसर्चको नाममा ठेगानासहित खुलाई स्वीडेनमा काम गर्ने आवश्यकता भन्दै विज्ञापन प्रकाशन गरी अन्तर्वार्ता समेत लिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दिवेश लोहनीले बताए । ‘यसरी ठगी गरिएको छ भन्ने सूचना पाएपछि हामीले अनुसन्धान अघि बढायांै,’ उनले भने, ‘होटलमा अन्तर्वार्ता लिएको अवस्थामा पक्राउ गरेका हौं।’

कास्की पुम्दीभुम्दीका २४ वर्षीय बास्तोलासहित भारत गुजरातका २७ वर्षीय अभिषेक यादव र भारत उत्तर प्रदेशका २९ वर्षीया मुकेशकुमार शर्मालाई मंसिर ४ गते पक्राउ गरिएको एसपी लोहनीले बताए।

उनीहरुलाई काठमाडौं होटल प्लाटिनम एन्ड स्पाको हलमा नेपाली युवाहरुलाई स्विडेन पठाइदिने भन्दै अन्तर्वार्ता लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको लोहनीले बताए। ‘उनीहरुले श्रम स्वीकृति पत्र राखेर फाराम भराइरहेका थिए,’ उनले भने, ‘जुन देखाउनमात्र थियो ।’ उनीहरुले यसअघि वैदेशिक रोजगारीको नाममा दर्जनौं नेपाली युवाहरुलाई ठगी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी लोहनीले बताए।

‘उनीहरुले स्विडेन ६ लाखमा लैजाने भन्दै अन्तर्वार्ता लिएका रहेछन्,’ उनले भने, ‘३५ जना अन्तर्वार्ताका लागि आएका थिए ।’ अन्तर्वार्तामा छनोट भएपछि पहिलो चरणमा २ लाख लिने । त्यसपछि भिसा प्रक्रियाका लागि ३ लाख र जाने बेलामा १ लाख गरी जम्मा ६ लाख लिने सर्तमा अन्तर्वार्ता सुरु भएको उनले बताए । पक्राउ परेका ३ नै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसपी लोहनीले बताए।

उनीहरुले १६ थरीका कामका लागि कामदार चाहिएको भन्दै पत्रिकामा विज्ञापन प्रकाशित गरेका थिए । विज्ञापन प्रकाशित मितिबाट १० दिनभित्रमा आवश्यक कागजात पत्र बुझाउनुपर्ने भन्दै ३० दिन भित्र भिसा र टिकट हात पर्ने ग्यारेन्टी दिएका थिए । कम्पनीको नाम नदिइ एस्काभेटर अपरेटर, जर्नल किपर, इलेक्ट्रोसियन, स्टोर किपर, ट्रक डाइभर, सिसिटिभी अपरेटर, सेक्युरेटी लगायत कामदारको विज्ञापन मार्फत माग गरिएको थियो।

पक्राउ परेका कास्कीका बास्तोला चितवन भरतपुर सहिद गेटमा द टाइम्स इन्टरनेसनल एजुकेसनल प्रालिका मेनेजर हुन्। भारत गुजरातका यादव र उत्तर प्रदेशका शर्मा नेक्सेलसिएर रिसर्चका सञ्चालक रहेको एसपी लोहनीले बताए । ‘यिनीहरुको ठग्ने नियतनै थियो भनेर अन्तर्वार्तामा गएका कसैलाई पनि विश्वास थिएन,’ उनले भने, ‘विशेष सूचनाको आधारमा हामीले पक्राउ गर्यौं।’

लोहनीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोले यस्तो प्रकृतिको घटना पहिलो हेरेको हो । ‘यसभन्दा अघि हामीलाई थाहा थिएन,’ उनले भने, ‘अब यस्तो घटनालाई पनि प्राथामित्तामा राख्ने छौं।’

वैदेशिक रोजगारमा जानेहरुले पनि यथार्थ बुझेर मात्र अघि बढ्नु पर्ने एसपी लोहनीले सल्लाह दिए । ‘कुन देश जाने हो ? लैजाने संस्था भर पर्दो हो कि होइन भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पछिल्लो समयवैदेशिक रोजगारमा जाने भन्दै नबुझी प्रक्रिया अघि बढाउदा धेरै ठगिएको घटना सर्वजनिक भएको पाइन्छ।’

यसरी अन्तर्वार्ता लिने क्रममा पक्राउ गरेको घटना सम्भवत पहिलो पटकनै हुन सक्ने पोखरा–१७ बिरौटाका हरि अधिकारीले बताए। अधिकारीले पनि स्विडेन जाने भन्दै ३ लाख रकम गुमाएका थिए। ‘मैले सेक्युरेटीमा जाने भनेर ३ लाख डुबाएँ,’ उनले भने, ‘रकम त परै जाओस् लिने मान्छेको अत्तोपत्तो छैन।’





Comments

comments

Leave a Reply

15128