Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली लोकसंगीतमा उदाउँदै लोकदोहोरी गायक नवीन रानामगर

पछिल्लो समय निकै व्यस्त बनेका लोक तथा दोहोरी गायक नवीन रानामगरले, बागलुङको गलकोट, पाण्डवखानी–३ मा जन्मिएर पाण्डवखानी प्राविबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । परिवारसँगै बसाइँसराइँ गरी हाल, गलकोट, हरिचौर–२, सिमलबोटमा स्थायी रूपमा बस्दै आएका लोक तथा दोहोरी गायक नवीन आमा कल्पना राना र बाबा मतिराम रानाका कान्छा सुपुत्र हुन् । पृथ्वी उच्च मावि, हरिचौर–५ बाट एसएलसी उत्तीर्ण गरेका लोकगायक नवीनले काठमाडौंको ललितकला क्याम्पसबाट शास्त्रीय संगीतमा स्नातक उत्तीर्ण गरेका छन् । २०६९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका नवीनले सोही समयदेखि नेपाली लोकसंगीतको यात्रा औपचारिक रूपमा थालनी गरेका हुन् । उनको पहिलो एल्बम ‘वैंश आयो घुमेर’ कौह्रा हो । त्यसपछि उनले क्रमशः ‘नौतुनादेखि गोरखपुरसम्म’ सालैजो, ‘म त हजुर मगरको छोरो’ दोहोरी, ‘मुग्लानी शहर’ सालैजो, ‘गलकोटको ठावैँ रमाइलो’ पञ्चे बाजा, ‘भूकम्पको गीत’, ‘खाएछ कि कलेजो’ सालैजो, ‘मेरो पाण्डवखानी’ पर्यटन गीत, ‘खैंजडी बजाउँदै’ कौह्रा, ‘आएँ म त जोर मादल बोकी’ झ्याउरे, ‘रोदीघर आउँदा’ सालैजोलगायतमा स्वर एवं संगीत दिएका दिएका छन् । सुमधुर स्वरका धनी नवीनले पछिल्लो पटक ‘तीनपाने खाएसी’बोलको पञ्चे बाजा गीत बजारमा ल्याउन लागेका छन्।

खासगरी, मौलिक लोकभाकाहरूप्रति विशेष रुचि राख्ने नवीनले सालैजो, कौह्राजस्ता मौलिक गीतमा बढी स्वर दिएका छन् । ‘मौलिक खालका लोकगीतमा मेरो विशेष रुचि छ’, उनी भन्छन्, ‘पूराना लोपोन्मुख भाकाको संरक्षण गर्नुपर्ने अवस्था आएको छ, हामी नयाँ पुस्ताले पूराना लोकगीतको खोज अनुसन्धान पनि गर्नु जरुरी छ ।’ मगर समुदायमा विशेष प्रचलित सोरठी पनि उनी मजाले गाउन सक्छन् । लोकदोहोरी गायकका रूपमा मात्रै उनको परिचय सीमित छैन । उनी शब्द र संगीतमा पनि उत्तिकै अब्बल देखिएका उनी संगीत संयोजनतर्फ पनि पाइला अघि बढाउँदै छन्।

सञ्चारमाध्यममा आउन त्यति नरुचाउने उनी गीतसंगीतलाई राम्रो गर्ने ध्याउन्नमै हुन्छन् । स्थानीयस्तरमा आयोजना हुने विभिन्न दोहोरी गीत प्रतियोगितामा सहभागी भएर पुरस्कार जित्दै आएका लोकदोहोरी गायक नवीनले प्रत्यक्ष रूपमा मञ्चमा दोहोरी गाएर दर्शक, स्रोतालाई नचाउन सक्छन् । आजभोली उनी मञ्चहरूमा पनि जम्न थालेका छन् । नेपालका विभिन्न ठाउँका मेला र महोत्सवमा हजारौं दर्शक, स्रोतालाई नचाइसकेका उनको आजभोलीको दिनचर्या विगतका तुलनामा व्यस्त बन्न थालेको छ । काठमाडौंको यानीमाया दोहोरी साँझमा व्यवसायिक रूपमा गीत गाउने उनको सुमधुर स्वरलाई मन पराउनेहरूको संख्या पनि निकै छ।

सालैजो, सोरठी, दोहोरी, झ्याउरे, कौह्राजस्ता एक दर्जनजति गीतमा स्वर, शब्द र संगीत भरेका उनी नेपाली लोकसंगीतमा पछिल्लो समय लोकप्रिय बन्दै गइरहेका छन् । पहिलेको जस्तो क्यासेट बेचेर कलाकार बाँच्ने अवस्था अहिले छैन । उनी भन्छन्, ‘पहिलेजस्तो कलाकारले एल्बम वा क्यासेट बेचेर पैसा कमाउने जमाना अहिले छैन, स्टेज कार्यक्रममा जम्न सक्यो भने मात्रै कलाकार बाँच्न सकिन्छ, अन्यथा, निकै गाह्रो छ ।’ मौलिक र कर्णप्रिय स्वरका धनी लोकदोहोरी गायक नवीन रानामगरलाई सफलताका लागि हाम्रो पनि सतत् शुभकामना।

प्रस्तुतीः रूद्र श्रीसमगर





Comments

comments

Leave a Reply

15135