सकियो अर्को ओरालो

पोखरा हटलाइन / एचकेनेपाल डट कम –
पोखरा, ८ असार। पोखरामा नाटक “अर्को ओरालो”को मञ्चन सकिएको छ। तीन दिनसम्म पोखरा उद्योग वाणिज्य संघमा मञ्चन गरिएको यूथ क्रियसन थिएटरद्वारा निर्मित नाटक “अर्को ओरालो” शनिबार सकिएको हो।

धेरै समयपछि पोखरामा मञ्चन गरिएको नाटकवाट पोखरेलीहरुले नयाँ स्वाद लिएका छन्। समलिङ्गीको कथामा बनेको नाटक हेरेपछि दर्शकहरुले नाटकले नयाँ स्वाद दिएको र समाजमा समलङ्गीहरु खुल्न नसकेको अवस्थालाई नाटकले देखाउन खोजेको टिप्पणी गरेका छन्। समलिङ्गी भाव भएका पुरुषहरुले बिहे अगाडि नै आफ्नो कुरा स्पष्ट रुपमा नराख्दा हुने घटनालाई नाटकले चित्रण गर्न खोजेको उनीहरुले बताए।

नयाँ कथा र अभिनयलाई दर्शकले खुलेर प्रशंसा गरेका छन् भने आउँदो दिनमा अझ उत्कृष्ट नाटक हेर्ने बातावरण मिलाईदिन आयोजकलाई आग्रह गरेका छन्। नाटकले जस्तो प्रभाव पारेको भएपनि सुस्ताइरहेको पोखरेली नाटकलाई जगाउने प्रयास भएको नाटक हेर्न गएका पोखराका रङ्गकर्मीहरुले बताए। नाटक हेर्न पुगेका रङ्गकर्मी तथा पत्रकार विभू भूषालले भने–“नयाँ कथाबस्तु र प्रविधिले नाटकलाई थप उर्जा थपेको रहेछ। कलाकारको अभिनय तारिफयोग्य छ। काम गर्नेवाट केही गल्ति हुन्छन्। काम हुनु ठूलो कुरा हो। नयाँ काम गरौं, वातावरण बन्दै जान्छ।”

नाटक सफल भएको आयोजकले बतायो। हामीले कुनै ठूलो काम गरेका होइनौं। मात्र नाटक देखाएका हौं। नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले भने–“हामीले नेपालमा चलेका नाटकहरु भन्दा केही भिन्न कथाबस्तु रोज्यौं, नयाँ तरिकालाई अपनायौं, नाटकले खोजेको प्रविधिसँग जुध्ने प्रयास गरौं। यसलाई पोखरेली दर्शकले मन पराएको हामीले महशुस गरेका छौं। नाटक मञ्चनवाट केही सिक्ने मौका पनि पाएका छौं नाटक सफल भएको छ।”

एक घण्टा समय रहेको नाटक मञ्चन गर्नका लागि पनि ठूलो मेहनत र परिश्रम गर्नु परेको थिएटरका अध्यक्ष कपिल शर्माको भनाई छ। हाम्रो मेहनत र अभिनयलाई पोखरेली दर्शकले मन पराएका छन्। यसले थप उर्जा थप्ने काम गरेको छ, उनेले भने। पोखरामा लामो समयपछि नाटक मञ्चन गरी पोखरेलीलाई नाटक तर्फ आकर्षण गराउने कामको एउटा सुरुवात भएको ब्यवस्थापक सौगात संघर्षको भनाई छ।

पोखरामा एउटा स्थायी नाट्य थिएटरको अभावको महशुस भने दर्शकहरुले गरेका छन्। नाटक हेर्न गएका अधिकांश दर्शकहरुले पोखरामा नाटकलाई ब्यवसायिक बनाउनु पर्ने र स्थायी थिएटरको निर्माण गर्नुपर्ने बताएका छन्। नाटकमा शर्मिला बस्नेत, रेम बि.क, कपिल शर्मा, उर्मिला कार्की र रोहन नेपालीले अभिनय गरेका थिए।





Comments

comments

156