‘आमा, घर फर्की आउनु न…!’ आमा भेटाई दिनेलाई १ लाख पुरस्कार

राम ढुंगेल / एचकेनेपाल डट कम –
युएई । दुई छोरीहरु र एक छोरालाई हुर्काई, बढाई, पढाइलेखाई गराउँदा आमाले भोगेका कष्टहरु दिपकले बिर्सेका थिएनन्। आमाको मुहारमा खुसी ल्याउने दृढसंकल्प गर्दै दिपकले वैदेशिक रोजगारीको बाटो बाध्य भएर रोजेका थिए । आफ्नै गाउँमा बसेर समृद्धिको सपना देख्ने आधार नभएपछि चितवन भरतपुरका दिपकराज पौडेल रोजगारीका लागि १२ वर्षअघि युएई आएका थिए।

दुई बहिनीहरुको शिक्षादीक्षा र भविष्यको चिन्ता परिवारको जेठो र एकमात्र छोरा दिपककै काँधमा थियो । सामान्य साक्षर आमा गोमा पौडेल, ‘पवित्रा’ पनि छोराको कमाइबाट सुखद जीउने कल्पना गर्थिन् । विदेशको कमाइबाट आफ्नो जीवनस्तर राम्रो हुने सपना पौडेल परिवारले बुनेर बसेको थायो । आफ्नी आमालाई कस्ले सम्मान नगर्ला र ? दिपकका आँखाहरुमा आमाको विगत र आगत चलचित्रका दृष्यझै जीवन्त थिए।

तमाम प्रवासिएका नेपालीझैं उनको पनि धन कमाउने एउटै लक्ष्य थियो । केही वर्ष विदेशमा दुःख गरेमा गरिबीको चपेटाबाट मुक्ति मिल्ने आम सपना उनले साँचेका थिए । परिवारको जेठा छोरा दिपकको जिम्मेवारी पनि जेठै थिए।

दिनहरु बिते । महिना बिते । वर्षहरु बित्दै गए । एक सामान्य कामदारका रुपमा युएई पुगेका दिपकले आफ्नो पेशागत जीवनमा धेरै परिवर्तनहरु भोगे । युएईको जनजीवन बुझे । कानुन तथा व्यापार व्यावसायबारे चासो राखे । बजारको माग बुझे । आमाकै नाममा एक कम्पनी स्थापना गरे–अल गोमा क्लिनिङ कम्पनी एलएलसी । एक सामान्य कामदार दिपक समयक्रममा कम्पनीको मालिक बने । चालीसभन्दा बढी कामदारको अभिभावक बने।

भर्खरै अर्को एक पार्टनरसँगको सहकार्यमा नयाँ व्यावसाय दुबईमै सुरु गरेका छन् । चितवनबाट काठमाडौंका स्थायी बासिन्दा भए । विवाह पनि गरे । हृदय ओइराएर माया गर्ने जीवनसंगीनीका रुपमा सुमित्रा आचार्यलाई पाएका छन् । जीवन एक गतिमा दौडिरहेको छ । अहिले उनको धन कमाउने एउटा सीमासम्मको सपना पूरा भएको छ।

तर, आमाको मुहारमा खुसी ल्याउने उनको चाहना अधुरो छ । आमालाई सपनामा त धेरै पटक देख्छन् दिपक । तर विपनामा आमा कहाँ छिन् ? दिपकको एउटै चिन्ता बनेको छ दिनरात।

विना जानकारी घरबाट बेपत्ता भएकी उनकी ४७ वर्षिया आमा हालसम्म बेखबर छिन् । वि.सं. २०६५ साल कात्तिक २५ गते तिहारको पर्सिपल्ट काठमार्डौको मनमैजुबाट परिवारको सम्पर्कबाट टाढिइकी गोमा पौडेलको अहिलेसम्म पत्तो नहुँदा पौडेल परिवार स्तब्ध बनेको छ । आमालाई सुखी राख्न धन कमाउन बिदेसिएका दिपकसँग अहिले स्वाभाविक आवश्यकता पूरा गर्ने धन त छ तर आमा छैनन्।

सात वर्षको यो अबधिमा सयौं पटक नेपाल पुगेपछि उनको पहिलो कर्तव्य आमाको खोजी गर्नु नै हुन्छ । आफन्त तथा साथीभाइसँग आमाकै विषयमा चर्चा हुन्छ । चिना हेराउनेदेखि गाडीमा प्रचार सामग्री बाँड्दै माइकिङ गरेर आमाको खोजी गरिरहे पनि अहिलेसम्म केही पत्तो लागेको छैन । घरमा कुनै समस्या नभएको कारण आमाले यसरी सम्पर्कविहीन हुनुका केही कारणहरु नभएको दिपकको अनुभव छ।

‘प्जिज हेल्प मि टु फाइन्ड माई मदर’ नामको पेज बनाएर पनि खोजीकार्यलाई सामाजिक सञ्जाल फेसबुकमा पनि आमाको खोजी अभियानलाई उनले निरन्तरता दिएका छन् । तर, सबैबाट सहानुभूति सिवाय केही पाएका छैनन्।

त्यो बेलासम्म शारीरिक र मानसिक रुपमा स्वस्थ्य आमा कुनै एक दिन फर्केर आउने उनको आशा ताजै छ । कहिले उनको मनले आफ्नी आमा नेपालकै कुनै धर्मशालामा रहेको अनुमान गर्न पुग्छ त कहिले मलेसिया वा अन्य खाडी देशहरुमा आफ्नी आमा पुगेकी हुन सक्ने अड्कल काट्छ । चिना हेराउँदा पनि धेरै ज्योतिषीहरुले विदेशमा रहेको अनुमान गरेका कारण आफ्नी आमा भारतदेखि कुवेत, साउदी, कतार, बहराइन र मलेसिया मध्ये कुनै देशमा काम गरिरहेकी भन्ने दिपकको आशंका छ।

हराएकी आफ्नी आमाबारे कुनै भरपर्दो जानकारी दिने अथवा आमा भेटाइदिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा दिपकले गरेका छन्। आफन्त, साथीभाइ, सहकर्मी सबैलाई हराएकी आमाबारे तारन्तार जानकारी लिँदै उनको अधिकांश समय बितेको छ । यसबीचमा कुनै भरपर्दो जानकारी नपाई निराशामा डुबेका उनको आमा भेट्ने आशा भने जीवितै छ । आफ्नी आमाबारे केही भरपर्दो जानकारी पाएमा ००९७१ ५५१०४० ९४३ मा खबर गरिदिन दिपकले सबैलाई आग्रह गरेका छन्।





Comments

comments

Leave a Reply

16796