एटिएमबाट यसरी चोरी हुन्छ पैसा

यसै साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली एटीएम बुथमार्फत विदेशीको खाताबाट पैसा चोर्ने गिरोहलाई समात्यो । गिरोहमा तीन जना मोल्डोभियन नागरिक थिए।

उनीहरूले विभिन्न माध्यमबाट अकाउन्ट डाटा लिने र त्यसलाई खाली एटीएममा प्रयोग गरी पैसा झिकेको दाबी सीआईबीको छ। प्रहरीले उनीहरूको साथबाट एटीएमको डाटा मेट्न र नयाँ अकाउन्ट डाटा राख्न प्रयोग हुने स्किमर मेसिन, एक हजारभन्दा बढी अकाउन्ट डाटा नियन्त्रणमा लिएको छ।

एटीएममार्फत यो ठगी नेपालमा पहिलो भने होइन । प्रहरीको दाबीअनुसार नेपालमा तीन वर्षदेखि एटीएम ठगी सुरु भएको हो । एटीएम ठगी पछिल्लो समय भने अनेक रूपमा देखिन थालेको छ । एटीएम ठगीमा विगतमा एटीएम बुथ प्रयोग हुने गरेको समाचार आउँथे भने पछिल्लो समय स्वाइप मेसिनको समेत प्रयोग हुने गरेको खुलासा भएको छ । सामान किनेपछि त्यसको भुक्तानीका लागि प्रयोग हुने स्वाइप मेसिन ठगले सामान किन्न भन्दा पनि पैसा झिक्न प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

महानगरीय अपराध महाशाखाले यसै महिना स्वाइप मेसिनमार्फत एटीएम ठगी गर्ने गिरोहलाई पक्राउ गर्यो । यो गिरोह करोडौं रुपैयाँ स्वाइप मेसिनमार्फत निकालेपछि प्रहरीको फन्दामा परेको हो । एटीएम ठगीमा पछिल्लो समय केही नयाँ कुरा बाहिर आएका छन् । त्यसमा स्वाइप मेसिनको प्रयोग, नेपालीको संलग्नता र व्यवसायीको समेत मिलेमतो हुने गरेको छ । विगतमा भएका एटीएम ठगीको घटनामा विदेशीको संलग्नता मात्र देखिएको थियो । तर, स्वाइप मेसिनमार्फत भएको ठगीले नेपालीको संलग्नता र नेपाली व्यवसायीको मिलेमतो पनि बाहिर आएको खबर अन्नपूर्णले छापेको छ।

यसका कारण केही नेपाली व्यवसायी पक्राउ परिरहेका छन् भने अन्य केही फरार छन् । महानगरीय अपराध महाशाखाले गत साता मात्र पोखराबाट टीका रिसोर्टका मालिक टीका पौडेललाई पक्राउ गरी काठमाडौं ल्याएको छ । उनले एटीएम ठगीको गिरोहसँग मिलेर स्वाइप मेसिनबाट पैसा निकालेको प्रहरीको भनाइ छ । महाशाखाले काठमाडौंबाट पक्राउ गरेका सुरेश केसी, सञ्जय सिंह भनिने केवल प्रताप राणा, अभिषेक नकर्मी, अनुज नकर्मीको बयानका आधारमा टीका पनि यस ठगीमा संलग्न रहेको पाइएको हो । भारतका आईटी इन्जिनियर ३० वर्षीय अभिषेक पाण्डे पनि पक्राउ परेका छन्।





Comments

comments

Leave a Reply

17242