अरुको सहाराबिना यसरी आफ्नै बुतामा उठ्दैछ बारपाक

जेठ २२, गोरखा – दुई वर्षअघि विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक आफ्नै बलबुतामा उठ्ने जमर्को गर्दै छ।

७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले ध्वस्त बारपाकलाई पुरानै अवस्थामा फर्काउन स्थानीयले निकै संघर्ष गरिरहेको खबर नयाँ पत्रिकाले छापेको छ।

सरकारी अनुदानविनै पक्की घर निर्माण
सुलीकोट गाउँपालिका–२ की ३८ वर्षीया रसकुमारी घलेले अहिलेसम्म आफूले सरकारी अनुदान नपाएको गुनासो गरिन् । तैपनि नौ लाख खर्चमा उनले दुई महिनाअघि नै पक्की घर बनाइसकिन् । राहत अनुदान सूचीमा आफ्नो नाम नै ननिस्किएको उनको गुनासो छ । छोरीको घरका लागि गिटी कुट्दै गरेको अवस्थामा भेटिएकी घलेले नयाँ पत्रिकासँग भनिन्, ‘भूकम्पमा घर ध्वस्त बन्यो । तर, अनुदान सूचीमा नाम नै निस्किएन । छाप्रोमै कति बस्नु भनेर ऋण गरेरै घर बनाएँ । अब कसरी ऋण तिर्ने भन्ने चिन्ता छ ।’ जग्गा र घर दुवैको धनीपुर्जा हुँदाहुँदै पनि सरकारी अनुदान नपाएको उनले दुःखेसो गरिन्।

सरकारी मापदण्ड नपुग्दा अनुदानबाट वञ्चित
बारपाककै ४८ वर्षीय पुरब गुरुङले पनि भूकम्पमा ध्वस्त घर उठाइसकेका छन् । सात लाख ५० हजार रुपैयाँमा उनले घर निर्माण गरे । घर बनाउन खर्च भएको पैसा सबै ऋण लिइएको उनले बताए । सरकारी अनुदानको पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिए पनि मापदण्ड नपुगेका कारण दोस्रो किस्ताबापतको डेढ लाख लिनबाट वञ्चित भएको उनले दुःखेसो गरे । ‘तीन महिनाअघि नै ऋण काढेर घर बनाएँ । पहिलो किस्ताको ५० हजार लिएँ, तर दोस्रो किस्ता लिन सकेको छैन । मापदण्डअनुसार घर बनाउनुपर्ने रहेछ । पैसा दिने ठाउँमा मापदण्ड नै पुगेन भन्यो । त्यही भएर ढिलो भएको छ,’ गुरुङले भने।

सरकारी अनुदानले छेउ पनि पुगेन
बारपाकमै किराना पसल चलाउँदै आएकी २९ वर्षीया जितकुमारी गुरुङलाई ऋण काढेर घर बनाए पनि कसरी तिर्ने भन्ने चिन्ता छ । भूकम्पमा ध्वस्त घरको उनले भुइँतला उठाइसकेकी छिन् । गाउँमै ढुंगा फुटाउने काम गर्ने उनका श्रीमान्ले घर बनाउन नौ लाख रुपैयाँ ऋण काढेका रहेछन् । जितकुमारीका अनुसार त्यसमध्ये आधा रकम तिरिसकिएको छ । पहिलो किस्ताबापतको ५० हजार अनुदान लिइसकेकी उनले दोस्रो किस्ताका लागि निवदेन दिएको बताइन् । तर, अहिलेसम्म पाउन भने सकेकी छैनन् । ‘सधैँ छाप्रोमा कति बस्नु, ऋण काढेरै भए पनि घर त बनाउनै प¥यो । आयस्रोत छैन । ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । सरकारी अनुदानले त छेउ पनि नभ्याउने भयो,’ उनले भनिन्।

पैसा नहुँदा घर बनाउन असहज

बारपाकमै होटेल चलाउँदै आएका ४० वर्षीय बालशमशेर गुरुङले भने अहिलेसम्म घर बनाउन सकेका छैनन् । आफूसँग पैसा नभएको र कसैले ऋण नपत्याइदिँदा घर बनाउने आँट नगरेको उनको भनाइ छ । ‘सरकारी अनुदानले मात्रै घर बन्दैन, आफूसँग पैसा छैन । ऋण कसैले दिँदैनन् । नौ लाखभन्दा धेरै नै खर्च हुन्छ । त्यही भएर घर बनाउने आँट नगरेको हो,’ उनले भने ।





Comments

comments

Leave a Reply

18247