पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न, कमल र अरुणा सर्वोत्कृष्ट खेलाडी

रञ्जन अधिकारी

पोखरा। लनटेनिसका खेलाडी कुमार अधिकारी र भलिबलकी अरुणा शाही वर्ष २०७३ मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा र उदयीमान खेलाडी भलिबलकी ममता डगौरा घोषित भए।

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको दोश्रो पोखरा स्पोर्ट्स अवार्ड समारोहमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रमुख मानबहादुर जिसी, मञ्चका केन्द्रिय अध्यक्ष महेश आचार्य, महासचिव प्रकाश तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले अवार्ड प्रदान गरे । यसवर्ष लाईफटाईम अचिभमेन्ट अवार्ड अग्रज खेलाडी खड्गबहादुर रानाभाटलाई प्रदान गरेको छ । विगत ५५ वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा अनवरत योगदान दिएका रानाभाटलाई अवार्डका साथ दोसल्ला र सम्मानपत्र अर्पण गरियो।

बर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरियो । संघले सुविधासम्पन्न टभौतिक पूर्वाधारका साथै उत्कृष्ट नतिजा ल्याउन सफ लबनेको छ । उत्कृष्ट महिला तथा पुरुष उत्कृष्टलाई २५–२५ हजार र अन्यलाई जनही १० हजार नगद र अर्वाड सहित सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट संघले पनि नगद १० हजार र अर्वाड प्राप्त गरे।

वर्ष उत्कृष्ट पुरुष खेलाडी कुमार अधिकारीको अनुपस्थितिमा उनको अवार्ड बुबा दुर्गा अधिकारीले ग्रहण गरे । पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमार सन् २००७ देखि २०१२ सम्म नम्बर वान खेलाडी हुन् । २०७३ मा सातौं राष्ट्रिय खेलकुदमा ओपन डबल र मिक्स डबलतर्फ गोल्ड मेडल जिते भने सिंगलमा ब्रोन्ज जितेका थिए । विभिन्न अनअफिसियल प्रतियोगितामा समेत मेन्स डबलमा गोल्ड मेडल जितेका छन्।

वर्ष उत्कृष्ट खेलाडी अरुणा शाही प्रथम स्पोर्टस् अवार्डमा समेत मनोनयनमा परेकी थिईन् । भलिबलकी अन्तर्राष्ट्रिय खेलाडी अरुणाले २०७३ मा फाईभ वुमन वल्र्ड च्याम्पियनशीप छनौट प्रतियोगितामा एशियन सेन्ट्रल जोनबाट फस्र्ट रनरअप, आरबीबी एनभीए वुमन क्लब लिग भलिबलमा बेस्ट सर्भर, सातौं राष्ट्रिय खेलकूदमा तेस्रो स्थान, सृजना आमन्त्रित अन्तराष्ट्रिय भलिबलमा दोस्रो स्थान, केएनपी राष्ट्रिय भलिबलमा दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन्।

उदयीमान खेलाडी ममता डगौरा मुख्यतः भलिबलकी खेलाडी हुन् । भर्खरै १४ वर्ष मात्रकी उनी क्षेत्रीय भलिबल टीमकी महत्वपूर्ण सदस्य हुन् । ममताको टीमले २०७३ मा सातौं राष्ट्रिय भलिबलमा कास्य पदक, क्षेत्रीय भलिबलमा स्वर्ण जितेको छ । टप्सकी ममता एथ्लेटिक्समा पनि उत्तिकै सफल खेलाडी हुन् । क्षेत्रीय खेलकुदमा स्वर्णधारी ममता फुटबल समेत खेल्छिन्।

वर्ष उत्कृष्ट प्रशिक्षक सुनबहादुर लामा सन् १९९५ देखि तेक्वान्दो प्रशिक्षक हुन् । फाईभ डाँन सुनबहादुर लामा निरन्तर खेलकुदमा क्रियाशील छन् । उनको प्रशिक्षणमा खेलाडीले सातौं राष्ट्रिय खेलकुद परिषद्मा राम्रो नतिजा प्राप्त गर्न सफल बनेको छ । साथै विभागीय टीम नेपाल आर्मीका खेलाडीलाई समेत उनले प्रशिक्षण दिँदै आएका छन्।

मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक बिधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ र भारोत्तोलनकी टीका माया गुरुङ मनोनयनमा परेकी थिईन् । वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी र ह्याण्डबलका विशाल वस्नेत मनोनयनमा थिए । उदियमान खेलाडीमा एथ्लेटिक्सका दर्शना बुढा मगर र सागर नेपाली मनोनयनमा परेका थिए । उत्कृष्ट प्रशिक्षकमा भारोत्तोलनका वखतमान श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रा मल्ल मनोनयनमा परेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रमुख मानबहादुर जिसीले पोखरालाई खेलकुदको राजधानी बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । पर्यटकीय नगरी पोखरा खेलनगरी समेत रहेको र अझै यसलाई परिस्कृत गर्न खेलकुद सम्बन्धित संघसंस्था, खेलप्रेमी नगरबासीका साथै खेलपत्रकारले समेत यसरी आफ्नो ठाउँबाट योगदान पुर्याउन आवश्यक रहेको बताए।

मञ्च, कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिननाथ बरालले स्वागत, सचिव रञ्जन अधिकारी, मन क्षेत्री र लक्ष्मी जिसीले सञ्चालन गरेका थिए । विविध सांगीतिक कार्यक्रमसहित सम्पन्न समारोहमा चर्चित गायक प्रमोद खरेल र बिनोद बानियाँले भरपुर मनोरञ्जन प्रदान गरे । यस्तै, बीबोईङ, जुम्बा डान्सका साथै सालैजो तथा झ्यारे नृत्य राष्ट्रिय भावका गीतमा नृत्य र मार्शल आर्टसका खेलाडीहरु आफ्नो प्रस्तुति राखे । खेलाडीहरुले र्याम्प वाक समेत गरे।

पोखरा लेखनाथ महानगरपालिका कार्यालय, हिमश्री फुड्स प्रालि, राष्ट्रिय खेलकुद परिषद्, (मुछेत्र गुरुङ), एनआरएन यूके, सहारा यूके लगायत दर्जनौं संघसंस्था एवं खेलप्रेमीको सहयोग रहेको उक्त कार्यक्रमलाई गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो।

तस्विरहरुः रञ्जन अधिकारी





Comments

comments

Leave a Reply

19184