विजय थापा –
लामो समयपछि अमेरिका पुगेकी गायिका अन्जु पन्तले आफ्नो उत्कृष्ट गीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्र मुग्ध पारिन्। उनले आफ्ना एक से एक चर्चित गीत गाएपछि दर्शक झुम्न बाध्य भएका थिए।
उनले गीत गाउदै दर्शकलाई नाच्ने हैन भने पछि दर्शक मंच छेउमा गएर नाच्दै मनोरंजन लिएका थिए।
उनले आफ्ना चर्चित गीतको साथै अन्तिममा माइतिघर चलचित्रको प्राण भन्दा प्यारो मिश्रित गीत गाउँदा माहौल तातेको थियो। उनले यति राम्रो गीत गाउछिन् भन्ने नलागेको र नसोचेको दर्शकले बताए। उनको कार्यक्रम हेर्न आएका दर्शकले सार्है मिठो गीत गाउने कलाकार रहिछन् भन्दै झन्डै यस्तो कलाकारको गीत सुन्ने अवसर गुमाएको बताए।
उनले लामो समयदेखि कला क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै उनलाई सम्मान समेत गरिएको थियो। उनलाई भर्जिनियाका निर्वाचन क्षेत्र ८७ का सभासद जोन बेलले सम्मान पत्र प्रदान गरेका थिए। अन्जु पन्तले म आफ्ना दर्शकहरुसंग आंखा जुधाउन चाहन्छु भन्दै कार्यक्रम स्थल उज्यालो बनाउन आग्रह गरिन्। उज्यालो भएपछि खुशी ब्यक्त गर्दै व्यस्त समयको बाबजुद पनि आएर कलाकारलाई हौसला दिनु भएकोमा धन्यवाद दिइन्।
आफूले खोलेको संस्था बारेमा जानकारी दिदै उक्त संस्थाले बालबालिका तथा महिलाहरुका लागि काम गर्ने बताईन्। उनले महत्वपूर्ण कुरा यहाहरु अमेरिका आएकोले हामीले मौका पाएको भनिन्।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा भएको पहिलो प्रस्तुतिको लागि पहिलो कलाकार स्वरुप अन्जु पन्तलाई रोजेको थियो।
डिसी क्षेत्र वरपरका सभासद ,प्रतिनिधि तथा सिनेटहरु पनि अन्जु पन्तलाई प्रोत्साहन दिन आएका थिए। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले सिनेटर वार्नर ,सिनेटर जेनिफर व्हिटन,सभासद जोन बेललाई मानार्थ सदस्यमा मनोनित गरेको छ।
उक्त सांस्कृतिक कार्यक्रममा खादा ओडाएर सम्मान गरिएको थियो भने बिदेशीहरुले आफ्नो छोटो मन्तब्य राखेका थिए। कार्यक्रममा लाउडन काउन्टी डेमो क्रेटिक दलका जिल्ला सभापति तथा लेखा परीक्षक हरि शर्माले उनीहरुको क्रियाकलाप र योगदानको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा स्थानीय कलाकारहरु र अमेरिकामा जन्मेका दोश्रो पुस्ताका कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए। ईनासका उपाध्यक्ष तथा वरिष्ठ गायक मधु क्षेत्रीले आफ्नो सदा बाहर गीत हुरीले उडाउन सकेन भन्ने गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा लक्ष्मण पौडेल तथा कल्पना देवकोटाले दोहिरी गीत गएका थिए भने दर्शकले मन थाम्न नसकी नाचेका थिए।
ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामा, ईनास अमेरिका भर्जिनिया शाखाका अध्यक्ष गोविन्ददाश श्रेष्ठ तथा रमेश मैनालीले समेत मन्तब्य राखेका थिए। कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई महाबाणिज्यदूत प्रेमराजा महतले अन्जु पन्त लगायतलाई प्रमाण पत्र वितरण गरेका थिए।