पछिल्लो समय हलिउड तथा बलिउडका केही अभिनेत्रीले आफूमाथि भएको यौन दुर्व्यहारबारे खुलासा गर्न थालेका छन् । सोही क्रमको निरन्तरतामा परेकी छिन्, बलिउड अभिनेत्री स्वरा भास्कर । उनले आफूलाई एक फिल्म निर्देशकले गरेको यौन दुर्व्यहारबारे खुलेर बताएकी छिन्।
हाल ‘वीरे दी बेडिङ’ नामक फिल्मको सुटिङमा व्यस्त रहेकी स्वराले हालै मुम्बई मिरर नामक म्यागजिनलाई दिएको अन्तर्वातामा करिअरको सुरुवातीका दिनको स्मरण गरेकी छिन् । ‘त्यतिवेला मैले एउटा फिल्ममा काम गरिरहेकी थिएँ । त्यो फिल्मका निर्देशकले मलाई होटेलमा बोलाए । म गएँ । ती निर्देशकले रक्सी पिएका थिए,’ उनले भनेकी छिन्, ‘त्यति मात्रै होइन, उनी मातेर राति मेरो रूममा पसे । आफूलाई अँगालो हाल्न भन्दै यौनसम्बन्धी कुरा गरे । मलाई निकै डर लाग्यो । कसोकसो फुत्किएर हिँडेँ।’
‘प्रेम रतन धन पायो’ फिल्ममा सलमान खानकी बहिनीको भूमिका निर्वाह गरेकी स्वराले ती निर्देशकले आफूलाई निकै सताएको बताएकी छिन् । उनले भनिन्, ‘निर्देशकले मलाई यतिसम्म इरिटेड गरेका थिए कि, मलाई कहिले सुटिङ सकिएला जस्तो भएको थियो ।’ त्यतिवेला त्यो फिल्मको ५६ दिनदेखि सहरदेखि टाढाको लोकेसनमा सुटिङ भइरहेको थियो । निर्देशकले आफूलाई सुटिङमा दिनभरि पिछा गर्ने र रातभरि फोन गरेर वाक्क लगाउने गरेको स्वराको दाबी छ । ‘कतिपय दिन सुटिङ सकिएपछि बत्ती निभाएर मेकअप उतार्थें, ताकि निर्देशकले सोचून्, म आफ्नो रुममा गइसकेँ,’ उनले भनेकी छिन्, ‘म निकै वाक्क भइसकेकी थिएँ । तर, मैले आफूलाई हरेक तरिकाले सुरक्षित राखेँ।’
स्वराले अन्य केही फिल्म निर्देशक, निर्माताले पनि आफूलाई यौन दुर्व्यहार गर्न खोजेको जिकिर गरेकी छिन् । ‘सेक्सुअल ह्यारेसमेन्टबाट बच्ने सर्वाेत्तम उपाय हो, प्रलोभनमा नपर्ने । फिल्म फुत्किए फुत्कियोस्, सम्झौता नगर्ने,’ उनी भन्छिन्, ‘उनीहरूको सर्त नमान्नाले म केही फिल्मबाट निकालिएकी पनि छु । सुटिङ सेटमा महिला कलाकारको सुरक्षाको विशेष व्यवस्था गर्नुपर्छ।’ नयाँपत्रिकाबाट