प्रदेश ४ को भावी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ को हुन्?

एमालेका सचिव एवं संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। लमजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका गुरुङलाई एमाले प्रदेश ४ को संसदीय दलको नेतामा पार्टीले सर्वसम्मत चयन गरेसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

आइतबार एमाले कास्कीको पार्टी कार्यालयमा भएको संसदीय दलको बैठकले गुरुङलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । प्रदेश ४ मा कुल ६० प्रदेश सांसदमध्ये एमालेका २७ र माओवादीका १२ गरी गठबन्धनमा ३९ सांसद छन् । यो संख्या बहुमतीय सरकार निर्माणको लागि पर्याप्त हो। नयाँपत्रिकामा खबर छ।

यसरी भयो सुब्बाको नाममा सर्वसम्मत
आइतबार बिहान ९ बजेसम्म समझदारीबाट सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनको कार्यक्रम तय गरिएको थियो । निर्वाचन कमिटीले १२ बजेर १५ मिनेटसम्म उम्मेदवारी दाखिला गर्ने समय तोकेको थियो । तर, त्योबीचमा पृथ्वी सुब्बा गुरुङको मात्र उम्मेदवारी परेको थियो ।

निर्वाचनको तयारी एकातिर चल्दै गर्दा करिब साढे ११ बजेतिर काठमाडौंबाट एमाले पोलिटब्युरो सदस्य खगराज अधिकारी पोखरा आइपुगेका थिए । उनको आगमनसँगै एकाएक वातावरण बदलियो । उनले सुरुमा जिल्ला नेताहरू कृष्ण थापा र दामोदर बैरागीसँग छलफल गरे ।

सो छलफलपछि खगराज अधिकारी, रवीन्द्र अधिकारी र किरण गुरुङबीच छलफल भयो । सो छलफलले नै सर्वसम्मत नेता चयन गर्ने महत्वपूर्ण वातावरण बनायो । तीनजनाबीचको छलफल भएपछि पृथ्वी सुब्बा गुरुङलाई सर्वसम्मत दलको नेता बनाउन किरण गुरुङलाई सहमत बनाइयो ।

नेताहरूबीचमा छलफल चलिरहँदा निर्वाचनको कार्यक्रमलाई समय सार्दै लगिएको थियो । भित्र छलफल चलिरहे पनि सहमति होला वा नहोला भन्ने दुविधा कायम नै थियो । तर, करिब २ बजे संसदीय दलको बैठकमा सञ्चारकर्मीलाई फोटो खिच्न बोलाइयो ।

साथै, दलको बैठकले १ घन्टामा औपचारिक निर्णय दिने जानकारी दिइयो । त्यसपछि ४ बज्न १५ मिनेट बाँकी रहँदा औपचारिक निर्णय गरी पृथ्वी सुब्बा गुरुङलाई दलको नेता घोषणा गरियो ।

को हुन् पृथ्वी सुब्बा गुरुङ ?
पृथ्वी सुब्बा गुरुङको जन्म लमजुङको क्व्होलासोंथर गाउँपालिका ९, टक्सारमा २ फागुन ०१४ मा भएको हो । उनका बुबा स्व. गंगाप्रसाद गुरुङ र आमा चिनी गुरुङ हुन् । त्रिग्राम विद्या मन्दिर गिलुङमा प्राथमिक शिक्षा थालेर अमृत साइन्स क्याम्पसबाट ०३४ मा विज्ञानमा स्नातकसम्म अध्ययन गरेका छन् ।

०२७ मा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारबाट अनेरास्ववियुको तर्फबाट स्ववियु सचिव निर्वाचित भएर राजनीति सुरु गरेका गुरुङ विभिन्न पदमा रहेर काम गर्दै आएका छन् । ०६० मा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका थिए ।

०४३ मा गाउँकै विद्यालयमा विज्ञान शिक्षक भएर काम गरेका गुरुङ राजीनामा दिएर जनपक्षीय उम्मेदवार बनेका थिए । उनी ०२७ मा इशानेश्वरस्थित प्रमोद हाइस्कुल भोर्लेटारमा अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवमा निर्वाचित भएपछि राजनीतिमा सक्रिय रहे ।

एमाले तेस्रो पार्टी बन्दा पहिलो संविधानसभाको निर्वाचन ०६४ मा उनी ६ हजार बढी मतले कांग्रेस उम्मेदवारलाई हराउँदै संविधानसभा सदस्यमा विजयी भएका थिए । तर, दोस्रो संविधानसभाको निर्वाचन ०७० मा उनी ६७२ मतले कांग्रेसकै उम्मेदवारसँग पराजित भएका थिए ।

तीन दशकयता हरेकपटक उम्मेदवार बने पनि उनको प्रदेश सभा सदस्य बन्दाको जित दोस्रो थियो । पाँचपटक उनले हार बेहोरेका थिए । ०४३ मा ‘एक वाम–एक ठाम’ नारा दिएर चुनाव लडेका उनी यसपटक सबै जसो वाम दल समेटिएको गठबन्धनबाट साझा उम्मेदवार बन्दै विजयी भएका थिए ।

संविधानसभा निर्वाचन ०६४ मा गुरुङले कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई ५ हजार ८ सय ८४ मतले पछि पार्दै विजयी भएका थिए । गुरुङ ०७० मा भने कांग्रेसका चन्द्रबहादुर कुँवरसँग ६ सय ७३ मतले पराजित भएका थिए ।

सो जिल्लामा ०४१ मा घरबारविहीनलाई घर बनाइदिने कार्यको वैचारिक नेतृत्व गुरुङले गरेका थिए । पञ्चायतविरुद्ध लाग्दा ३ महिनाभन्दा बढी उनले जेल जीवन बिताएका छन् । उनी यसअगाडि पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत बनेका थिए ।

०६१ देखि ०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुखको जिम्मेवारीमा रहे । ०६५ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । ०६५ मा पार्टी पोलिटब्युरो सदस्यमा निर्वाचित उनी ०७१ मा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भएका हुन् ।

०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत छन् । परिवारमा श्रीमती कुमारीमुनी गुरुङसहित ४ छोरी र १ छोरा छन् ।

दुई अधिकारीको निरन्तर प्रयास
प्रदेश ४ मा संसदीय दलको नेता चयनको लागि समन्वय गर्ने र समझदारी निर्माण गर्ने काममा केन्द्रीय सल्लाहकार परिषद्का उपाध्यक्ष खगराज अधिकारी र केन्द्रीय सदस्य रवीन्द्र अधिकारी केही दिनदेखि निरन्तर लागेका थिए ।

एमाले अध्यक्ष केपी ओलीसँग परामर्श गरेर सहमति निर्माणमा उनीहरूले भूमिका खेलेका थिए । सहमति जुटाउन एमाले महासचिव ईश्वर पोखरेलसमेत पोखरा आएका थिए । उनले दुई आकांक्षी पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङसहित खगराज र रवीन्द्र अधिकारीसहितको उपस्थितिमा समझदारी गराउने प्रयास गरेका थिए ।

खगराज र रवीन्द्र एउटै जिल्ला कास्की र दुवै संस्थापन पक्षका भए पनि स्थानीय राजनीतिमा विपरीत छन् । गुटको हिसाबले भने खगराज एमाले अध्यक्ष केपी ओली र रवीन्द्र वामदेव गौतमनिकट मानिन्छन् ।

प्रदेश ४ मा मुख्यमन्त्री बनाउने गरी पृथ्वी सुब्बा गुरुङलाई दलको नेता बनाउने भूमिकामा भने अन्तिम समयमा एकै ठाउँ उभिएपछि सर्वसम्मत भएको हो । केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले भने, ‘पृथ्वी सुब्बा गुरुङलाई निसर्त सर्वसम्मत दलको नेता बनाउने सहमति भएको हो ।’

आवश्यकताले सहमति बन्यो : पृथ्वी सुब्बा गुरुङ, संसदीय दलका नेता, प्रदेश ४
उच्चस्तरको संस्कार, पार्टीका नेताहरूको संलग्नता र प्रदेश सांसदको सक्रियताका कारण यो सहमति सम्भव भएको हो ।

प्रदेश संयोजकसमेत रहनुभएका सांसद किरण गुरुङको प्रस्तावमै म संसदीय दलको नेता चुनिएको हुँ । देशको अहिलेको आवश्यकता, पार्टी र सरकारको सम्बन्ध मजबुत पार्नका लागि यो आवश्यक थियो । परिस्थिति परिपक्व भएपछि सहमति जुट्यो ।

अहिलेको आवश्यकता महसुस गरेर यो सहमति भएको हो, यसमा कुनै लनेदेनका कुरा छैनन् । माओवादी केन्द्रले पनि दलको नेता चयन गरेको छ । अब दुवै दलका नेताले प्रदेश प्रमुखसँग बहुमत रहेकाले मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्छौँ । त्यसपछि प्रक्रियाले गति लिन्छ । के गर्ने भन्ने विषयमा सल्लाहमा तय हुन्छ ।

मैले नै प्रस्ताव गरेँ : किरण गुरुङ संयोजक, प्रदेश ४
म प्रदेश ४ को संयोजक भएकाले पार्टीको अभिभावक पनि हो । मैले नै अडान लिएर बस्दा सहमति जुट्ने कुरै भएन । सहमति गराउन मैले नै प्रस्ताव गरेको हो ।

बृहत् राष्ट्रिय एकता, वाम एकता र माओवादी केन्द्र तथा एमालेबीच हुन लागेको बृहत् वाम एकतालाई ध्यान दिएर मैले सहमतिको निर्णय गरेको हो । हामीबीच कुनै लेनदेन भएको छैन । निस्वार्थ रूपमा सर्वसहमतिको प्रयास गरेको हो । पार्टीमा व्याप्त गुटबन्दीको अन्त्य गर्नसमेत यो सहमतिले मार्ग खोल्नेछ ।

लमजुङले मुख्यमन्त्री पाउने भएपछि जिल्लावासी उत्साहित
लमजुङ/प्रदेश ४ को संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङ सर्वसम्मत भएसँगै जिल्लावासीमा खुसियाली छाएको छ । गुरुङ मुख्यमन्त्री हुने भएसँगै जिल्लाको समग्र क्षेत्रको विकास हुने लमजुङवासीको अपेक्षा छ ।

आर्थिक क्षेत्रमा सहयोग पुग्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । उनले भने, ‘मुख्यमन्त्री पाउनु लमजुङवासीका लागि खुसीको कुरा हो ।’

राजनीतिक पहुँच केन्द्रीयस्तरमा भएका व्यक्ति मुख्यमन्त्री हुँदा जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास थापाले लिएका छन् । उनले लमजुङको व्यावसायिक हकहित, औद्योगिक क्षेत्र एवं पर्यटनको प्रचारमा थप टेवा पुग्नेसमेत बताए ।

नेपाल अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङ पनि कृषि क्षेत्रमा परिवर्तन हुने बताउँछन् । उनी भन्छन्, ‘जिल्लाले मुख्यमन्त्री पाउने भएसँगै कृषिलाई व्यवसायीकरण बनाउन सहयोग पुग्नेछ ।’

उनले कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम र व्यवसायमूलक सीप दिएर मौसमी—बेमौसमी खाद्यान्न, तरकारी र नगदेबाली उत्पादन गरी आम्दानी बढाउने योजना सञ्चालन गर्नु आवश्यक छ ।

बेँसीसहरका पशुपति घिमिरेले गुरुङ मुख्यमन्त्री बन्ने भएसँगै सडक, बाटोघाटोको निर्माणमा विकासले गति लिने बताए । उनले जिल्ला वर्षौँदेखि विकासका हिसाबले पछाडि परेको छ । अब जिल्लाले नै मुख्यमन्त्री पाउने र विकासले गति लिनेमा उनले विश्वास व्यक्त गरे ।

उनले भने ग्रामीण विद्युतीकरण, खानेपानीको उचित व्यवस्थापन, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा पर्याप्त विकास हुने अपेक्षा छ, त्यस्तै घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष एवं क्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले ग्रामीण पर्यटन, होमस्टे सञ्चालनको क्षेत्रमा सहयोग पुग्ने बताउँछन् ।





Comments

comments

Leave a Reply

22016