नवलपरासी : झण्डै दुई सातादेखि बेपत्ता नवलपरासी (बर्दघाट–सुस्ता पूर्व),गैडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ।
खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए। खोजतलासका क्रममा खरेलले मोबाइल प्रयोग नगरे पनि फेसबुक अनलाइनमा आउने गरेका कारण त्यसको स्थान भारतमा देखिएको अनुसन्धानका क्रममा थाहा हुन आएको हो। भारतीय प्रहरीको सहयोगमा प्राप्त सूचनानुसार गोरखपुरमा रहेको सुन्दर गेस्ट हाउसमा समेत खरेलले रात बिताएको अनुसन्धानका क्रममा खुल्न आएको छ।
गत माघ २२ गते खरेलको स्थानीयवासी युवतीसँग विवाह गर्ने तय गरिएको थियो तर उनी विवाहको अघिल्लो दिन राति एकाएक बेपत्ता भएका थिए। बेपत्ता खरेलको खोजी गरिदिन खरेलका दाजु गुरुप्रसादले हुलियासहितको निवेदन जिल्ला प्रहरी कार्यालयमा दिएपछि खोजतलास अगाडि बढाउने क्रममा यस्तो रहस्य बाहिर आएको प्रहरीले जनाएको छ।
खरेल बसेको होटेलको अभिलेख हेर्दा फेला परेको परिचयपत्रको फोटोकपी, होटलका कामदारको भनाइका साथै प्राप्त सिसीटिभी भिडियो फुटेजअनुसार खरेल सुरक्षित रहेको प्रहरीले जनाएको छ। विवाह हुने भनेर मिति तोकिएपछि एकाएक बेपत्ता भएका खरेललाई जतिसक्दो चाँडो ल्याएर आवश्यक कारवाही अगाडि बढाउनुपर्ने माइती पक्षले प्रहरीसमक्ष माग गरेको छ। खरेललाई तत्काल नेपाल ल्याइने प्रहरीको भनाइ छ। रासस