नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरीका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा बरिष्ठ अभिनेता निर शाहलाई कोलोराडोमा अभिनन्दन गरिने भएको छ।
श्रष्टा सम्मान तथा नियमित कवि गोष्ठी कार्यक्रम अन्तर्रगत अगष्ट २५ तारिखका दिन कोलोराडोस्थित म्याकरेक सेन्टर वेष्टमिनिष्टरमा बरिष्ठ अभिनेता निर शाहलाई अभिनन्दन गर्न लागिएको हो।
२०२४ सालमा हिरासिंह खत्रीद्धारा निर्देशित चलचित्र परिबर्तनबाट अभिनययात्रा शुरु गरेका निर शाहले हालसम्म ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरि सकेका छन्।
शाह बरिष्ठ अभिनेता, प्रशिद्ध गीतकार, कवि, चलचित्र लेखक, निर्देशक, संगीत नाट्य बिभागका पूर्व प्राज्ञ, नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महा प्रबन्धक समेत हुन्। बहु प्रतिभाशाली ब्यक्ति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको निमन्त्रणलाई स्वीकार्दै कोलोराडो आउन लागेका हुन्।
अभिनन्दन समारोहमा शाहको प्रवचन, तथा अभिनय प्रदर्शन कार्यक्रम रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेलले बताए।
कार्यक्रममा आफ्ना लेख, रचना लिएर सुन्न र सुनाउन उपस्थितिको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, गन्यमान्य, कवि, कवयित्री, गायक, कलाकार, व्यवसायी, बाल बालिका तथा सर्वसाधरणलाई ढुंगेलले अनुरोध गरेका छन्।
मानिस जहां जसरी रहे पनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हुदै आएको छ।