सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –
केन्ट, बेलायत। किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाजले बेलायतको फेल्थाम, लण्डनमा १६ औँ राष्ट्रिय विभूती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्मजयन्ती मनाइएको छ।
गत वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको बिभिन्न ठाँउहरुबाट किराँत धर्मका भक्तजन र शुभ चिन्तकहरु भेला भएर महागुरु फल्गुनन्दज्यूको १३४ औँ जन्मजयन्ती समारोहको आयोजना गरिएको हो।
प्रमुख अतिथि कियाचु युकेका पूर्ब केन्द्रीय अध्यक्ष सुबासचन्द्र जबेगु र अन्य अतिथि कियाचु थोरोक शाखाका वर्तमान अध्यक्ष दलप्रसाद आङ्देम्बे, कियाचु युके वेल्स शाखा अध्यक्ष पर्शु वनेम, समाजसेवी तथा लिम्बु भाषा तथा संस्कृति संरक्षक सुबर्ण नेम्बाङ्, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास, धनकुटा समाजका अध्यक्ष पुर्ण फालेच्छा, संघीय लिम्बुवान यूकेका महासचिव राम ईजाम, मोरङ् नेपाल छेत्र नम्बर ६ का भूतपूर्ब सभासद तारा राई साथै अग्रज समाजसेबीहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेपछि महागुरुको नाममा सेवासाबा रुद्र तुम्बापोले सेवापुजा सुरु गरेको थियो।
सेवापूजा सकेपछि “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज”का वर्तमान अध्यक्ष दिपक तुम्बापोले महागुरुको जीवनी प्रस्तुत गरेका थिए।
कार्यक्रमको मध्यान्तरमा यसै संस्थाका सदस्य पुर्ण कुमार फालेच्छा हालै धनकुटा सेवा समाजको अध्यक्ष जस्तो गरिमामय पद सम्हाल्ने अवसर पाएकोमा संस्थाले कार्यकाल सफलता साथै बधाई दिए।
अन्त्यमा अध्यक्ष दिपक तुम्बापोले सम्पूर्ण अतिथि, भक्तजन र शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थित भई सफल पारिदिएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै कार्यक्रम औपचारिक रुपमा सकिएको र पूजा पछि खानपिनको ब्यवस्था भएको पनि जानकारी दिदै समापन गरेका थिए।
विहानको ११ बजे कार्यक्रम शुरु भएर अपरान्ह ५:३० बजे सकिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रकम चेम्जोङ्ले स्वागत मन्तब्य दिएका थिए र सचिव भगीरथ जबेगुले कार्यक्रम सञ्चालन गरेका थिए।