काठमाडौं। भेनेजुएला प्रकरणमा सत्तारुढ दल नेकपा र सरकारसँग चिढिएका अमेरिकी राजदूत र्यान्डी बेरी प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
मंगलबार दिउँसो बेरीले प्रधानमन्त्री ओलीसँग भेनेजुएलाबारे अमेरिकी धारणा प्रस्ट्याएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
भेनेजुएलाको राजनीतिक संकटमा नेकपा र सरकारले अमेरिकी भूमिकाको वक्तव्यमार्फत् आलोचना गरेपछि राजदूत बेरी चिढिएका थिए। मंगलबारको भेटमा उनले प्रधानमन्त्रीसमक्ष भेनेजुएलाको यथार्थ व्याख्या गर्दै सत्तारुढ दल र सरकारबाट आएका वक्तव्यहरूको ‘भद्र प्रतिवाद’ गरेको स्रोतले बतायो।
‘उहाँ आउनु भयो, नेपाल–अमेरिका सम्बन्ध र पछिल्लो विकसित भेनेजुएला प्रकरणबारे छलफल भयो,’ एक निकटस्थले सुनाए, ‘विषय अरु पनि थिए तर मुख्यतः पछिल्लो विकसित घटनाबारे नै छलफल भएको हो।’ यसअघि सरकारले शुक्रबार गरेको कूटनीतिक ब्रिफिङमा भने बेरी अनुपस्थित थिए। उनले सोही दिन दैनिक पत्रिकाका सम्पादकलाई दूतावासमै बोलाएर छलफल गरेका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।