कांग्रेस नेत्री सुजाता कोइराला फस्ट लेडी

काठमाडौ, २४ कार्तिक। सार्क शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेत्री सुजाता कोइरालालाई फस्ट लेडी राख्ने भएका छन्।

अविवाहित प्रधानमन्त्री कोइरालाले सुजातालाई प्रथम महिलाका रुपमा सार्कमा सहभागी गराउने निर्णय गरेका हुन्। कोइरालाले सुजाताको नाम परराष्ट्र मन्त्रालयमा पठाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतले ‘प्रधानमन्त्रीले सुजातको नाम परराष्ट्रमा पठाइसकेको र सार्कमा फस्ट लेडीका रुपमा उनी सहभागि हुने’ जानकारी दियो। सार्कका राज्य तथा सरकार प्रमुखको अतिथि सत्कार तथा अन्य समारोहमा सुजाताले फस्ट लेडीको हैसियत प्राप्त गर्नेछिन्।

कोइराला परिवारमा नेतृत्व र उत्तराधिकारीबारे शीतयुद्द चलिरहेका बेला सुजाता भने प्रधानमन्त्रीको आशिर्वाद पाउन सफल भएकी छन्। सुजाताको आधिकारिक दायित्व र हैसियतबारे प्रस्ट पारिएको छैन। सुजातको यो ‘सेरेमोनियल’ हैसियतले कांग्रेसभित्रको उनको हैसियत भने उकासिने छैन। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि छोरी सुजातालाई फस्ट लेडीका रुपमा विभिन्न समारोहमा सहभागि गराएका थिए। राष्ट्रपति यादवको पत्नीको मृत्यु भइसकेकाले उनले पनि छोरी अनितालाई फस्ट लेडीका रुपमा विभिन्न कार्यक्रममा उपस्थित गराउँदै आएका छन्।





Comments

comments

2758