कास्कीमा रवीन्द्रको उत्तराधिकारी खोजिदै..

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२ खाली भएको छ । सरकारले उपनिर्वाचन घोषणा त गरेको छैन । तर, सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा–परिचर्चा सुरु भएको छ । विद्यार्थी राजनीतिबाट स्थापित भएका नेकपाका लोकप्रिय नेता अधिकारी ०६४ को पहिलो संविधानसभा निर्वाचनयता लगातार तीनपटक प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

लगातार चुनाव जितेका अधिकारीले पहिलोपटक संसद्मा लेखा समिति सदस्य, दोस्रोपटक विकास समिति सभापति र तेस्रोपटक मन्त्रीको जिम्मेवारी पूरा गरे । उनको निधनसँगै रिक्त चुनाव क्षेत्रमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्नेबारे अड्कलबाजी हुन थालेका छन् । उनको स्थानमा उठ्ने उम्मेदवारबारे नेकपाले कुनै प्रतिक्रिया दिएको छैन । तर, पोखरामा भने अधिकारीको अन्त्येष्टिसँगै सुरु भएको यो चर्चा दिनप्रतिदिन गर्मराउँदै जाने देखिन्छ । पछिल्लोसमय कांग्रेस सभापति शेरबहादुर देउवाले यो क्षेत्रमा हुने उपनिर्वाचनमा जितेर कांग्रेसले देशव्यापी एकताको सन्देश दिनुपर्ने बताएसँगै यहाँ चुनावको चर्चा थप चुलिएको खबर नयाँपत्रिकामा गोविन्द सुवेदी र शुरोजंग पाण्डेले लेखेका छन्।

सम्भावित उम्मेदवार
विद्या भट्टराई: कास्की–२ मा उम्मेदवार बन्ने सबैभन्दा बढी सम्भावना भएकी व्यक्ति हुन् रवीन्द्र अधिकारीकी जीवनसंगिनी भट्टराई । उनले चाहेमा अरू कसैले पनि उम्मेदवारी दाबी नगर्ने धारणा पार्टी पंक्तिमा छ । तर, भट्टराईले यसबारे खुलेर केही बताएकी छैनन् । ‘मैले यस विषयमा अहिले सोचेकी छैन । सिंगो पार्टी छ, परिवार छ । पार्टीले सोच्ला, परिवारसँग छलफल होला,’ उनले भनिन्, ‘अहिले पार्टी र परिवारसँग छलफल भएको छैन ।’ उनले उम्मेदवार जोसुकै भए पनि कास्की–२ बाट नेतृत्व गर्ने व्यक्ति राष्ट्रियस्तरमा काम गर्न सक्ने र जनताबीच लोकप्रिय हुनुपर्ने बताएकी छन् ।

सोमनाथ अधिकारी प्यासी: तत्कालीन एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्षसमेत रहेका अधिकारी कास्कीका पुराना नेता हुन् । अर्कै निर्वाचन क्षेत्रका भएकाले उनले उम्मेदवारीमा दाबी गर्ने अवस्था छैन । ‘पार्टीको निर्णयलाई मान्छु,’ उनले भने, ‘उपनिर्वाचन हुने नै भयो भने पार्टीले जिम्मेवारी दिएको खण्डमा तयार हुन्छु । तर, दाबी गर्दिनँ ।’

तुलबहादुर गुरुङ: तत्कालीन एमाले पोलिटब्युरो सदस्य गुरुङ अहिले नेकपाका केन्द्रीय सदस्य छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष पनि रहेका उनले ०४८ र ०५६ मा त्यही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । कास्कीमा पुराना नेता भएकाले उनी उम्मेदवारको स्वभाविक दाबेदार मानिन्छन् । अधिकारीको उदयपछि छायाँमा परेका उनले परिवारलाई नै पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘कास्की–२ मा विद्या भट्टराई नै पहिलो प्राथमिकतामा छिन्,’ गुरुङले भने, ‘उहाँले पक्कै मान्नु हुनेछ । उहाँ राजी हुनुभएन भने विकल्पमा पार्टीले उपयुक्त निर्णय गर्छ । पार्टीले जिम्मेवारी दिँदा म तयार नहुने कुरै भएन ।’

धनराज आचार्य: रवीन्द्र अधिकारीका बालसखासमेत रहेका आचार्य विद्यार्थी राजनीतिमा लामो समय सँगै काम गरेका व्यक्ति हुन् । पछिल्लो समय राजनीतिभन्दा बढी व्यवसायमा सक्रिय आचार्यलाई पनि कास्की–२ को सम्भावित उम्मेदवारका रूपमा हेरिन्छ । तत्कालीन एमाले समर्थित व्यापारीको संगठन नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्षसमेत रहेका उनले उम्मेदवारीमा आफ्नो दाबी नरहेको बताए । ‘पहिलो प्राथमिकता रवीन्द्रको परिवार नै हो,’ उनले भने, ‘यदि परिवारले मानेन भने मेरो दाबीभन्दा पनि पार्टीको निर्णय मुख्य हुनेछ ।’

रश्मी आचार्य: अनेरास्ववियुका उपाध्यक्ष आचार्य सोही क्षेत्रका हुन् । सम्भावित उम्मेदवारका रूपमा उनलाई लिइए पनि आचार्य काठमाडौंकेन्द्रित विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा समय दिन सकेका छैनन् । आचार्यले पार्टीले जिम्मा दिए आफू उम्मेदवार बन्न तयार रहेको बताए । ‘युवा नेतृत्व स्थापित भएको ठाउँमा अब फेरि पुराना नेतातर्फ फर्किन्नु हुन्नँ,’ उनले भने, ‘युवालाई नै अगाडि बढाउनुपर्छ ।’

विद्या भट्टराईलाई नेता–कार्यकर्ताको ढाडस
रवीन्द्रलाई सघाउन भन्दै उनकी जीवनसंगिनी विद्या भट्टराई दुई दशकअघि सक्रिय राजनीतिबाट टाढिएकी थिइन् । कास्कीका अधिकारी र सिन्धुपाल्चोककी भट्टराई तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीमा लामो समय काम गरेका थिए । ०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्क्रिय भइन् ।

अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै प्राज्ञिक योग्यता बढाउनमा ध्यान दिइन् । समाजशास्त्रमा एमफिल गरेकी उनी अहिले रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापन गर्छिन् । अहिले कास्की–२ को उम्मेदवारका रूपमा विद्यालाई पार्टीले अघि सार्नुपर्ने मत नेकपाभित्र बलियो छ ।





Comments

comments

28357