चीन भ्रमणमा रहेका राष्ट्रपति अस्वस्थ्य भएपछि भ्रमण छोट्याएर फर्कदै, प्रधानमन्त्री ओली जाँदै

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले २६ वैशाखदेखि १ जेठसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण गर्ने भएका छन्।

जेठमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सातदिने अस्ट्रिया भ्रमण गर्दै छन् । यता, अमेरिकी र भारतीय अधिकारीको पनि नेपालमा भ्रमण हुँदै छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री ओली २६ वैशाखमा आफ्ना समकक्षी सुयान फुकको निमन्त्रणामा भियतनाम जाँदै छन् । चीनको छिमेकी भियतनाममा उच्चस्तरीय भेटवार्ता सकेर ओली समकक्षी हुन सेनको निमन्त्रणामा कम्बोडिया जानेछन् । प्रधानमन्त्री १ जेठमा स्वदेश फर्किने तय भएको छ।

कम्बोडियाका प्रधानमन्त्री गत भदौमा बिमस्टेकको सम्मेलनका क्रममा औपचारिक भ्रमणमा आएका थिए । उनको निमन्त्रणामा प्रधानमन्त्री ओलीको औपचारिक भ्रमण हुन लागेको परराष्ट्र अधिकारीले बताए । भियतनाम र कम्बोडियामा प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो । दुवै देशमा नेपाली दूतावास छैन । बैंककस्थित नेपाली दूतावासले भ्रमणको संयोजन गरेको छ।

एक दिन भ्रमण छोट्याएर राष्ट्रपति आज फर्किंदै
राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणको कार्यतालिका एक दिन छोट्याएर बुधबार स्वदेश फर्किने भएकी छिन् । राजकीय भ्रमणका क्रममा बेइजिङबाट मंगलबार अपराह्न ल्हासा पुगेकी उनी बिहान १०ः४० बजे काठमाडौं फर्किंदै छिन्।

यसअघि उनी बिहीबार दिउँसो एयर चाइनाको उडानबाट स्वदेश फर्किने कार्यक्रम थियो । ‘राष्ट्रपतिज्यू सिचुआन एयरलाइन्सको पहिलो उडानबाट बिहान १०ः४० मा काठमाडौं आउने जानकारी गृह मन्त्रालयबाट प्राप्त भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने । राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएको भए पनि पुष्टि हुन सकेन।

मंगलबारका भेटघाट सकिएपछि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहज भएपछि काठमाडौैं फर्किने योजना बनेको हो । उनले बुधबार पोटाला र जोखाङ दरबार भ्रमण गर्ने, कृषि परियोजना अवलोकन गर्नेलगायत कार्यक्रम थिए। नयाँ पत्रिकामा पर्शुराम काफ्लेले समाचार लेखेका छन्।





Comments

comments

28740