नेपालीलाई भारतीय भन्दै भ्रामक फेसबूक भिडियो बनाएकी महिलाको खोजी गर्दै प्रहरी

वाग्लेको फेसबूकबाट

काठमाडौं। जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको भिडियो बनाउने महिलाको खोजबिन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

वीरगन्ज — जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय नागरिक मात्र रहेको बताएकी छन्।

नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले दाबी गरेकी छन् । यस्तो देखेर आफू आश्चर्यचकित भएको पनि उनको भनाइ छ । ‘के आधारमा तपाईंले सबैलाई भारतीय नागरिक भन्नुभएको हो,’ वाग्लेको पोस्टमा वीरगन्जका सामाजिक अभियन्ता आशु सर्राफले लेखेका छन्, ‘गोरो छाला नभएका हरेक व्यक्तिलाई गैरनेपाली देख्ने तपाईको मानसिकतालाई उपचार आवश्यक छ । बिनाप्रमाण भ्रम फिँजाउन सरल छ तर यथार्थ बताउन गाह्रो हुन्छ । बिन्ती गर्छु मलाई प्रस्ट पारिदिनुस् कुन आधारमा तपाईले उहाँहरूलाई गैरनेपाली भन्नुभएको हो?’

सर्राफको जिज्ञासामा वाग्लेले कुनै प्रतिक्रिया जनाएकी छैनन् । वाग्लेको भिडियोमा फोटोकपी पसलका साहूले ‘कसैलाई नेपाली बोल्न आउँदैन, न त लेख्न नै, निःसन्देह भारतीय त हुन् नि’ भन्ने प्रतिक्रिया दिएका छन् । नेपाली बोल्न नआउँदैमा कोही भारतीय हुन्छ भनी सोध्दा उनी चाहिनेभन्दा बढी भाइरल भयो भन्दै पन्छिए । गृह मन्त्रालयले उक्त महिलालाई खोजबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उक्त भिडियोले भ्रम फैलाएको बताए। कान्तिपुर दैनिकमा भूषण यादवले यो खबर लेखेका हुन्।





Comments

comments

28762