सेल्फी लिने क्रममा रेलले किचेर ३ जनाको मृत्यु

फाईल फोटो

भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले किचेको छ।

भारतमा पछिल्लो समय रेलको लिकमा सेल्फी लिने क्रममा मृत्यु हुने किशोर–किशोरीको संख्या बढिरहेकोे बताइरहेका वेला पछिल्लो घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार सेल्फी लिँदै गरेका चौथा व्यक्ति भने जोगिएका छन्।

प्रत्यक्षदर्शी एमएस डबासका अनुसार चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै थिए । त्यही वेला तीव्रगतिमा आएको रेलले तीनजनालाई किच्यो । ती युवा एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन पानीपत पुगेका थिए।

सेल्फी लिँदा हुने मृत्युमा भारत अग्रपंक्तिमा
प्रविधिको क्षेत्रमा निरन्तर फड्को मारेको भारतमा एक अर्बभन्दा बढी मानिसले मोबाइल फोन प्रयोग गर्छन् । तीमध्ये ३० करोडले स्मार्टफोन प्रयोग गर्छन् । विश्वमा सबैभन्दा बढी भारतमा सेल्फी लिने जमात बढ्दो रहेको विभिन्न अध्ययनले देखाएका छन् । सेल्फीप्रतिको भारतीयको मोह अनौठो भएको विज्ञहरू बताउँछन् । किशोर–किशोरी र युवायुवतीले खतरा मोलेर विभिन्न पोजमा सेल्फी लिँदा दुर्घटना बढेको विज्ञहरूले बताउँदै आएका छन्।

दिल्लीस्थित कार्नेजी मेलन युनिभर्सिटी र इन्द्रप्रस्था इन्स्टिच्युट अफ इन्फरमेसनका अनुसार पछिल्ला वर्षमा भारतमा विश्वमा सबैभन्दा बढी सेल्फीसँग सम्बन्धित घटनामा मानिसको मृत्यु हुने गरेको छ । सन् २०१४ देखि २०१६ सम्म सेल्फीसँग सम्बन्धित घटनामा विश्वभर १२७ को मृत्यु भएको थियो । तीमध्ये ७६ जना भारतीय थिए । मृत्यु हुनेमध्ये सबै युवायुवती थिए।

गतवर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिने क्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर, सेल्फी लिने क्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ ।





Comments

comments

28772