साइप्रसमा अस्मिता खडकाका हत्यारालाई डेढ सय वर्ष जेल

साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ।

मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरेको स्वीकार गरेका छन्। अदालतले ७ जनाको हत्यामा कुल १५० वर्षको जेल सजाय हुने फैसला गरेको छ।

मेटाक्सासले एक नेपाली, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालिकाको हत्या गरेका थिए। प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो।

उनले महिलालाई परिबन्धमा पारी यौन सम्बन्ध राखेर हत्या गरेको बयान दिएका छन्। अदालतको फैसला आउनु एक साताअघि साइप्रस सरकारले पीडित परिवारको हकदारलाई १७ हजार युरोका दरले क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

मेटाक्सासबाट मारिएकी काठमाडौंकी ३० वर्षीय अस्मिता खडका विष्ट गत वर्षको जुलाई ९ बाट हराएकी थिइन् । खडका १८ जुलाई २०१७ मा घरेलु कामदारका रूपमा साइप्रस गएकी थिइन् । उनलाई अल ओभरसिज म्यानपावरले साइप्रसको सीआईजी एजेन्सी सर्भिसमा मासिक ३ सय ९ युरो तलब पाउने गरी पठाएको थियो । काम र सेवासुविधाको विषयमा म्यानपावरमा गुनासो आएको थिएन । उनका एक छोरा काठमाडौंमा हजुरआमासँग बस्दै आएका छन्।

३५ वर्षीय मेटाक्सासले सन् २०१६ को सेप्टेम्बरदेखि २०१८ जुलाईसम्म हत्या गरेका थिए । गत अप्रिल १४ मिस्टसिरो भन्ने स्थानमा एक महिलाको शव भेटिएपछि उनी पक्राउ परेका हुन् । उनकै बयानका आधारमा अरू शव भेटिएका थिए । अस्मिताको शव गत अप्रिल २८ मा ओरान्दा भन्ने स्थानमा भेटिएको थियो। यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

30109