नेपालमा पाँच तारे होटलको संख्या १५ पुग्यो

फाईल फोटो

नेपालमा एकै वर्ष चारवटा पाँचातारे होटल थपिएका छन्। पछिल्लो समय गत सोमबार ठमेलको छायाँदेवी कम्प्लेक्समा रहको अलफ्ट काठमाडौंले पाँचतारेको अनुमति पाएको छ। योसँगै नेपालमा पाँचतारे होटलको संख्या १५ वटा पुगेको हो।

यसमध्ये दुईवटा होटल सञ्चालनमा छैनन् भने पुराना र नयाँ गरी बाँकी १३ वटा सञ्चालनमा छन्।

यो होटल मापदण्ड पूरा गरेर पर्यटन विभागबाट पाँचतारेमा स्तरीकरण भएको हो। होटल निर्माण सम्पन्न गरेर स्तरीकरणका निम्ति पर्यटन विभागमा निवेदन दिएको थियो। विभागले स्थलगत निरीक्षणसहित मापदण्ड पूरा गरेकाले पाँचतारे होटलको मान्यता दिइएको विभागका होटल शाखा अधिकृत नारायणप्रसाद भट्टराईले जानकारी दिए।

यो होटलसँगै पछिल्लो समय पाँचवटा पाँचतारे होटल थप भएका छन्। १२ मंसिर २०७४ देखि पाँचतारेका रूपमा सिल्भर हेरिटेज इन्भेस्टमेन्टको लगानीमा रूपन्देहीको कोटीहवामा टाइगरवान प्यालेस सञ्चालनमा आएको थियो। यसपछि एकै वर्ष चारवटा पाँचतारे होटल थप भएका छन्।

पछिल्लो समय थप भएका होटलमा एभरेस्ट हस्पिटालिटी ग्रुप एन्ड होटलको म्यारिओट काठमाडौं, नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर र कोहलपुरको सेन्ट्रल प्लाजा र अलफ्ट काठमाडौं छन्।

‘पर्यटन ऐन २०३५, होटल, लज, रेस्टुराँ, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ र होटल स्यान्डर्ड २०७० ले तोकेको मापदण्ड पूरा गरेर होटल थप भइरहेका छन्। पाँचतारेको अनुमति पाएको होटल अलफ्ट काठमाडौंमा १ सय ७७ वटा कोठा छन्। होटल निर्माणमा करिब साढे ५ अर्ब रुपैयाँ खर्च भएको होटल सञ्चालक सुमन पाण्डेले अन्नपूर्णलाई जानकारी दिए।

पाँचतारेको अनुमति पाएका एभरेस्ट होटल र फूलबारी हाल बन्द छन्। २०७२ को भूकम्पपछि बन्द भएको एभरेस्ट होटल पुनः सञ्चालनको तयारीमा छ। होटल सञ्चालन गर्न तयारी करिब पूरा भइसकेको एभरेस्ट होटलले जानकारी दिएको छ।

विभागमा होटलको स्तरीकरणका लागि आवेदन दिनेमा झापाको ग्रान्डी प्रिन्स र भैरहवाको पवन प्यालेस पनि छन्। यी दुवै होटलले मापदण्ड पूरा गरेको र काठमाडौं उपत्यका बाहिरका भएकाले ८० कोठामात्रै भए पनि तोकिएको सर्त पूरा गरेको अवस्थामा पाँचतारेको अनुमति पाउनेछन्।

पाँचतारेका रूपमा निर्माण भइरहेका राजधानीकै नक्सालको डबल ट्रि हिल्ट्रन र केसरमहलको काठमाडौं शेराटन, झापाको मेची क्राउन र इटहरीको गरिमा होटल पनि छन्। यो खबर राजु बास्कोटाले अन्नपूर्णपोष्टमा लेखेका छन्।





Comments

comments

30324