शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यागुतोको कथा सुनाए।
कथा सुनेर नेता र कार्यकर्ता राम्रै गरी हाँसे। सोही अवसरमा प्रधानमन्त्रीले बाबुराम भट्टराईप्रति व्यङ्ग्य गर्दै डिग्रीले क्रान्ति नगर्नेसमेत उल्लेख गरेका थिए। निष्टा र दृष्टिकोणले मात्र क्रान्ति हुने उनको तर्क थियो।
‘नेपालमा पीएचडी गरेका थुप्रै छन्। तर, एकजना मात्र पीएचडी गरेजस्तो डाक्टर..डाक्टर..डाक्टर..’ बाबुरामप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीले भने। यही विषयप्रति व्यङ्ग्य गर्दै बाबुरामले साँझ ज्योतिषीको कथा सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्रीले सुनाएको भ्यागुतोको कथा
एउटा भ्यागुताकी बच्ची घुम्न गइछ। पाठो देखिछ। अनि कुवामा गएर आमालाई भनिछ, ‘आमा यत्रो ठूलो जनावर देखेँ।’ भ्यागुतीले भनिछ, ‘कसरी हुनसक्छ म भन्दा ठूलो ?’ आमाले भुँडी फुलाउँदै भनिछ, ‘यत्रो थियो।’ होइन। ‘यत्रो थियो।’ होइन। अझ भुँडी फुलाउँदै यत्रो थियो। ‘हो…।
प्रधानमन्त्रीको यही कथाप्रति कटाक्ष गर्दै बाबुराम भट्टराईले सामाजिक सञ्जालमा ज्योतिषीको कथा सार्वजनिक गरेका हुन्। आफैंले कक्षा तीनमा पढेको घमण्डी भ्यागुतोको कथा भनेर ओलीले स्रोता हँसाएको भन्दै बाबुरामले निदुली बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी भए भन्ने कथा सुनाएका हुन्।
बाबुरामले ट्विटरमा सार्वजनिक गरेको ज्योतिषीको कथा जस्ताको तस्तै :
हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ! त्योसंगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि? कथा यस्तो छ-निदुली बाहुन साँझमा ससुराली पुगेछन्।
सासू भित्र सेलरोटी पकाउँदै रहिछन्।ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन्! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन्! ज्वाइँले भनेछन्-‘रोटी पाके दुई बीस चार, ज्वाइँका भागमा किन चार? ’ ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।गाउँमा धोबीको गधा हराएको रहेछ। धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन्! अब पर्यो फ़साद! भोलिपल्ट बिहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँले टाप कसेछन्।
भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन्! के खोज्छस् दृष्टिविहीन,आँखा!ज्वाइँ ससुराली घर फर्केर सुतेछन्!भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्! अब के चाहियो? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ। राजाले दरबारमा बोलाएछन् र हराएका हीरा-जवाहरत पत्ता लगाउन भनेछन्। बस्न कोठा दिएछन्! अब पर्यो महाफसाद! भागौं,पहरा छ! कोठामै बर्बराएछन्-‘रोटी गनीगनी जैसी कहाएँ;धोबीको गधा उखुवारी पाएँ;अब आयो निदूली तेरै काल!’ पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ! उसको नाउँ पनि निदूली रहेछ! उसले रूँदै आएर भनिछ-‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु। ’निदूली राजज्योतिषी बनेर धनधान्य भएछन! अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो! यो खबर अन्नपूर्णपोष्टमा छापिएको छ।