स्थापनाकालदेखि अहिलेसम्म विभिन्न समयका जहाज खरिद प्रक्रियामा भएको अनियमितताका कारण आलोचित हुँदै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यति बेला मुख्य दुई कारणले आलोचित छ, कमजोर व्यवस्थापन अनि भएकै जहाज उडान भर्न नसकेर।
निगमसँग अहिले अन्तर्रा्ष्ट्रिय उडानका लागि एयरबस कम्पनीका दुईवटा न्यारोबडी (३२०–२००) र दुईवटा वाइडबडी विमान (३३०–२००) छन् । अर्को एउटा बोइङ ७५७ बेचबिखनको प्रक्रियामा छ । आन्तरिक उडानतर्फ तीनवटा ट्विनअटर, ५६ सिटे दुईवटा एमए ६० र १७ सिटे चारवटा वाई १२ छन् । सानाठूला सबै गरेर निगमसँग अहिले १३ वटा जहाज छन्।
अघिल्लो आर्थिक वर्ष भदौमा निगमले सार्वजनिक गरेको श्वेतपत्रमा निगमको मासिक सञ्चालन घाटा करिब ३२ करोड रुपियाँ पुगेको छ । परिस्थिति अहिले पनि योभन्दा फरक छैन । अर्थ समितिमा कार्यकारी अध्यक्षले प्रस्तुत गरेका अनुमानित तथ्याङ्कअनुसार निगम गत आर्थिक वर्षमा करिब चार अर्ब ७५ करोड रुपियाँ घाटामा गएको छ।
आन्तरिक उडानका लागि ल्याइएका जहाजहरू लामो समय ‘ग्राउन्डेड’ भइरहनु, लामो दूरीको गन्तव्यका लागि ल्याइएको वाइडबडीले अहिलेसम्म योजनाअनुसारका गन्तव्यमा उडान गर्न नसक्नु निगमको आलोचनाका थप कारणहरू हुन्।
यही परिस्थितिमा निगमले अहिले सरकारसँग आफ्नो चुक्तापुँजी करिब ३८ करोड रुपियाँबाट बढाएर २० अर्ब रुपियाँ पु¥याउन माग गरिरहेको छ । प्रधानमन्त्री र सांसद भुसालको टिप्पणी निगमको यही परिस्थितिमाथि थियो।
त्यसो त निगमले अहिले विभिन्न आठवटा अन्तर्रा्ष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ। निगमकै दाबीअनुसार प्रतिउडान यात्रु सङ्ख्या औसत नै छ। चार लाख ९३ हजार यात्रुसहित सन् २०१८ मा नेपालमा अन्तर्रा्ष्ट्रिय यात्रु उडान गर्ने कम्पनीमा पनि निगम सबैभन्दा अगाडि छ। यो समाचार गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।