चीनले भन्यो- सरकारविरोधी प्रदर्शनका कारण हङकङ तहसनहस

विमानस्थलभित्र प्रदर्शन

सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो।

विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै प्रदर्शन सुरु भएको थियो।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्। प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्।

तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महत्वपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

उता, चीनले भने दुई महिनाभन्दा बढी समयदेखि जारी सरकार विरोधी प्रदर्शनका कारण हङकङ तहसनहस भएको र यसले विस्तारै ‘आतंकवादलाई विकास गरिरहेको’ आरोप लगाएको छ।

चीनले आधिकारिक रूपमै केही प्रदर्शनकारीको गतिविधि आतंकवादसँग तुलना गरेका कारण हङकङमा आतंकवादविरुद्धको कानुन र शक्तिको व्यापक प्रयोग हुनसक्ने हङकङका केही कानुनी विज्ञहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। चीनको यस्तो अभिव्यक्तिलाई सन् २०१२ मा शक्तिमा आएदेखि चिनियाँ राष्ट्रपति सी चिनफिङसामु उत्पन्न भएको सबैभन्दा ठूलो चुनौतीका रूपमा अर्थ्याइएको छ। यो खबर नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

31383