इन्जिनियर राकेश कार्की –
न बाँकी भयो नेपालीपन
न बाँकी भयो आफ्नो भेष
छसय एकको विशाल संविधानसभा
भूपी, यो हल्लै हल्लाको देश
टुँडिखेल खुलामञ्च बोलीरहन्छ
संविधानसभा कान थुनिरहन्छ
नपाउन्जेल फतफत हल्ला गर्छन्
पाएपछि गमक्क फुलेर बहिरा हुन्छन्
हाम्रो महान कवि भूपीले भने जस्तै
यो हल्लै हल्लाको देशमा
फुटपाथमा छरिएर जताततै सस्तै
नबिकेर कति लागे विदेशमा
असङ्ख्य जीवनमा पछारिएका
भविष्य खोजिरहेका छोराछोरी
आमाको काखबाट छुटाइएका
आँखाभरी सपना रोजीरहेका छोराछोरी
यो हल्लै हल्लाको देशमा
मुख खोल्न नसकेर परदेशमा
खुलामञ्चले के लछार्यो र
संविधान सभाले कसलाई बसायो र
न सरकारी जल न कृषि मल
गाउँघर चकमन्न रित्तो जातोमा
अनि सम्पूर्ण निचोरिदिएर उडाइ दिन्छन्
मरूभूमिको पोल्ने चरम तातोमा
कतै पूरै हिउँ-भालु जस्तो ढाकिएर
क्यानाडा, अलास्काको चरम चिसोमा
मुलुक छोडाउने पासपोर्टमा डामिएर
सीमा कटाइदिन्छन् रात्रि औ दिउँसोमा
कतै हिउँ सोर्दासोर्दै प्राण चिसोमा जान्छ
कतै पसिना उम्लेर तातोले जीवन खान्छ
त्यैपनि मातृभूमीमै लास आउछ बाकसमा
भूपी, यस्तै छ यो हल्लै हल्लाको देशमा
इन्जिनियर राकेश कार्की –
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस