पत्रकार महासंघ कतारद्धारा तोकिएकै समयमा संबिधान निर्माण गर्न दबाव

घनश्याम पराजुली (कृष्ण) / एचकेनेपाल डट कम –
दोहा। नेपाल पत्रकार महासंघ कतार शाखाले “नेपाली जनतासँग गरेको वाचा नतोडौ, २०७१ मघ ८ भित्रै संविधान जारी गरौं” विषयक एक दिवसीय दवावमूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कतारमा स्थापित नेपालका राजनैतिक दलहरुका प्रवास संगठनहरुका प्रमुखहरुसहित कतारमा क्रियाशिल पत्रकारहरु ,संघ संस्था , समाजसेवी, बुद्धिजीवीहरु लगायतका व्यक्तित्वहरुको उपस्थित रहेको सो कार्यक्रम आयोजना गर्नुको उद्धेश्यबारे प्रष्ट पार्दै पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे।

कतारमा नितान्त नयाँ रुपमा आयोजित कार्यक्रमलाई महासंघका सचिव मोहम्द अजिज अलीले सञ्चालन गरेका थिए। राष्ट्रिय गानसँगै शुरु भएको कार्यक्रममा संविधानका विविध विषयहरुमा संचालकद्धारा सोधिएका प्रश्नहरुमाथि राजनैतिक दलहरुका प्रवासमा स्थापित भातृ संगठनहरु नेपाली जनसम्पर्क समितीका सभापती बिमल सुबेदी, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैह्रे , नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा , नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन र नेपाली संघिय समाजका अध्यक्ष चन्द्रशेर राईले आ– आफ्ना दलहरुका अवधारण बताए भने सोही अवधारणा माथी सहभागीहरुले जिज्ञासा राखेका थिए।

अन्तर्क्रिया कार्यक्रममा उपस्थित सबैको धारणा आगामी माघ ८ गते नै संविधान जारी गर्नु पर्नेलगायत प्रवासीहरुका मुद्धा पनी संविधानमा समेटिनु पर्छ भन्दै त्यसका लागि आफू आवद्ध दलहरुलाई दबाव दिन आग्रह गरे। राजनैतिक दलहरुका भातृ संगठनले कतारबाट संविधान निमार्णका लागि आ – आफ्ना पार्टीलाई दबावमूलक विज्ञप्ति बुझाउने समेत प्रतिबद्धता जनाए।

कार्यक्रममा जनसम्पर्क समितीका सभापती सुबेदीले २०६२÷६३को जनआन्दोलनले गणतन्त्र स्थापना गरेको र यसैलाई आत्मसाथ गर्दै नेपालको मौलिक , धार्मिकता र जातिय पहिचानलाई समेट्दै लोकतान्त्रिक पद्धतीबाट संविधान आउने बताए। दलहरुले जनताको भरोसा तोड्न नहुने भन्दै प्रक्रियाबाटै भएपनी तोकिएको समय माघ ८ मा संविधानको दस्तावेज घोषणा गरेर अघाडी बढ्नु पर्ने उनको भनाई थियो। प्रवासी मञ्चका अध्यक्ष गैहेले माघ ८मा संविधान जारी हुने सर्वत्र दुविधा रहेको बताउदै सबै दलहरुविचको सहमतिमा नै संविधान निर्माण हुने बताए। उनी सम्वद्ध नेकपा एमाले विधि र प्रक्रियाबाटै भएपनि तोकिएकै समयमा संविधान जारी गर्ने पक्षमा रहेको जानकारी दिए।

त्यस्तै जनप्रगतिशिल मञ्चका अध्यक्ष शर्माले विगतका कालखण्डहरुमा बनेका संविधानहरु लमो समयसम्म टिक्न नसकेको हुदा अव बन्ने संविधान जनआन्दोलनलाई आत्मसाथ गर्दै नेपाली जनताका हक अधिकार सुनिश्चित हुने संविधान बन्नुपर्नेमा जोड दिए। एनेकपा माओवादीले संविधानका लागि दवावमूलक आन्दोलन गरिरहेको समेत जानकारी दिए।

कार्यक्रममा एकता समाजका अध्यक्ष लुमाकान्त पुनले संविधान निमार्णका लागी तोकिएको समय १२ दिनमात्रै रहेको स्मरण गर्दै समयमा नै लोकतान्त्रिक संविधान बन्नुपर्ने बताए। उनले पहिलो संविधानसभा संघियताको विषय नमिल्दा देहावसान हुन पुगेको भन्दै राज्य संक्रमणकालको बन्दी हुनुबाट मुक्ति हुनुपर्ने धारणा राखे। अर्का सहभागी संघिय समाजका अध्यक्ष राईले विभिन्न कालखण्डमा भएका आन्दोलनले सफलता पाए पनि देश परिर्वतन हुन नसकेको बताए। उनले आन्दोलनमा गरिएका सबै कुरा अहिले सम्म पुरा हुन सकिरहेको छैन त्यसैले पहिलेको शासनबाट पिछडिएका वर्गलाई माथि उठाउन , मुल धारमा ल्याउन पहिचान सहितको संघियता हुनुपर्ने भन्दै प्रक्रियाबाट जारी भएको संविधान मान्य नहुने बताए। उनले सहमतिबाट तोकिएको समयावधिमा नै संविधान जारी हुनुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागीहरु मध्यवाट तिलबिक्रम थेवे, शन्नी वली , युवराज पाण्डे , होम कार्की , ईन्द्रमणी नेपाल , श्यामकुमार डाँगी ,श्रीकृष्ण भट्टराई , करिमबक्स मिँया , मक्सुद अलाम , भुपराज दवाडी , देवराज अवस्थी , विनेश तामाङ्ग , ओम दुलाल , रेखा राई, धिरज चाम्लिङ्गलगायतले आफ्नो जिज्ञासा राख्दै तोकिएको समयमा नै संविधान जारी गर्नका लागि दबाव दिए। सहभागीहरुले समय सान्दर्भिक विषयमा फरक ढङ्गबाट पत्रकार महासंघ कतार शाखाले कार्यक्रम गरेको भन्दै प्रशंसा गरेका थिए। यसरी नै अन्य विषयमा समेत निरन्तरता दिनुपर्ने धारणा सहभागीहरुको रहयो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3665