स्वीडेनबासीले पनि हेरे ‘टलकजंग vs टुल्के’

दिप शर्मा / एचकेनेपाल डट कम –
स्टकहोल्म, स्वीडेन। नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्वर्धन र प्रवर्धन गर्ने कार्यमा रुचिपूर्वक उपयोगी भूमिका निर्वाह गर्ने उद्धेश्यले गठित स्वीडेन स्थित नेपाली सांस्कृतिक संस्था, नेपाल मण्डपको आयोजनामा शनिवार (१० जनवरी २०१५) स्वीडेनको राजधानी स्टकहोल्ममा प्रसिद्ध नेपाली चलचित्र “टलकजगं vs टुल्के” को प्रदर्शन भएको छ।

कार्यक्रममा स्वीडेनबासी नेपालीहरु लगायत नेपाली चलचित्रप्रति माया, सदभाब राख्नेहरुको प्रेरणादायी उपस्थिति थियो। स्वीडेनमा रहेको नेपाली समुदाय माझ नेपाली समाज र जनजीवनको यथार्थलाई सम्बोधन गर्न समर्थ नेपाली चलचित्रहरुको प्रवर्धन गर्ने र तिनीहरुको व्यवसायिक सफलताको लागि थोरै मात्रै भएपनि योगदान पुरियाउने लक्ष्य बोकेर शुरु गरिएको सार्थक नेपाली चलचित्रहरुको नियमित प्रदर्शनलाई निरन्तरता दिने क्रममा उक्त चलचित्रको पनि प्रदर्शन आयोजना गरिएको जानकारी नेपाल मण्डपका सचिव दिप शर्माले दिएका छन्।

स्वीडेनमा हुर्किरहेका नेपाली बालबालिकाहरुको नेपाली भाषालाई समृद्ध बनाउन प्रेरणादायी वातावरण सिर्जना गर्ने उद्देश्यले गत २१ डिसेम्बर २०१५ का दिन स्टकहोल्ममा नेपाली साहित्यका केही चर्चित पुस्तकहरुको प्रदर्शनीको साथसाथै प्रदर्शनीमा उपस्थित नेपाली बालबालिकाहरुलाई बाल पुस्तकहरु बितरण गरेर रचनात्मक अभियान शुरु गरेको नेपाल मण्डपले स्टकहोल्म अन्तर्राष्ट्रिय पुस्तकालयमा नेपाली साहित्यका प्रसिद्ध पुस्तकहरुको उपलब्धतालाई सुलभ बनाउने सन्दर्भमा पनि महत्वपूर्ण भूमिका निभाई रहेको छ।

त्यसैगरी नेपाल मण्डपको आयोजनामा चाँडै नै स्टकहोल्ममा “स्टकहोल्म नेपाली कल्चरल फेस्टिवल – २०१५” र “नेपाली रचना गोष्ठी-२०१५” पनि सम्पन्न हुनगईरहेको जानकारी मण्डपका कार्यकारीणी सदस्य प्रदिप के.सी.ले गराएका छन्।





Comments

comments

3677