Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एन्फा कास्कीका कोषाध्यक्षसहित २ को राजिनामा

सन्देश श्रेष्ठ / एचकेनेपाल डट कम –
पोखरा, ५ माघ। कास्की जिल्ला फुटवल संघ एन्फा कास्कीका एक पदाधिकारी र एक सदस्यले राजिनामा दिएका छन्। कार्यब्यस्तता देखाउँदै एन्फा कास्कीका कोषाध्यक्ष सुक गुरुङ र सदस्य राजन पौडेलले राजिनामा दिएका हुन्। गुरुङले करीब ३ महिना अघि र पौडेलले एक महिना अघि राजिनामा दिएपनि राजिनामा भने स्वीकृत भइसकेको छैन।

आफ्नो ब्यबसायमा लाग्नुपर्ने भएकाले राजिनामा दिएपनि स्वीकृत नभएपछि कोषाध्यक्ष गुरुङले हिजो पुनः एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेलाई स्वीकृतका लागि ध्यानाकर्षण गराएको उनले बताए। मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगिता सम्पन्न भएसम्मको लागि आफूले पर्खिएको बताउँदै गुरुङले अब भने ढिला नगर्न आग्रह गरेको बताए। म आफूपनि एन्फाको काम गर्न भ्याउँदिन, गुरुङले भने, ‘मेरो राजिनामा स्वीकृत गरेर अर्को व्यक्तिलाई राखे मलाई पनि सजिलो हुन्थ्यो, एन्फाको काम पनि हुन्थ्यो, अर्कोले अवसर पनि पाउँथ्यो।’

त्यस्तै सदस्य पौडेलले पनि राजिनामा स्वीकृत गर्दिए दुवै पक्षलाई राम्रो हुने बताए। उनले स्वीकृत नहुने हो भने पनि जानकारी गराए आफू खेलकुदको विकाशको लागि लाग्न तयार रहेको बताए। उनले नयाँ मान्छे आए अवसर पनि पाउने र आफू होटल ब्यबसायमा लाग्न लागेकाले आफूलाई पनि सजिलो हुने बताए।

तर एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले भने गुरुङ र पौडेलको राजिनामाबारे आफूलाई औपचारिक जानकारी नआएको प्रतिक्रिया दिए। उनले गुरुङ र पौडेलले पहिले–पहिले पनि राजिनामा दिदै घुक्र्याउने अनि पुनः पदमा बसिरहने गर्नेगरेको उल्लेख गर्दै भने, ‘मैले पनि बाहिरबाट थाहा पाएको हुँ, तर मलाई कसैलेपनि औपचारिक रुपमा राजिनामा पत्र दिएका छैनन्, यदी राजिनामा पत्र औपचारिक रुपमा आए तत्काल स्वीकृत गर्छु।’ अध्यक्ष लामिछानेले पोखरा कप फुटवल प्रतियोगिताको आर्थिक पाटो नसल्टाईकन राजिनामा दिएँ भनेर हल्ला फिजाउनु र काम नगर्नु गैरजिम्मेबारपनको पराकाष्ठा भएको टिप्पणी गरे।





Comments

comments

3855