माइतीघर मण्डला… (कविता) – राकेश कार्की

राकेश कार्की –

उखु किसानहरूको न्यायको आवाज
माइतीघर मण्डलाले सुन्थ्यो
शीर्ष नेताहरू नै मण्डलामा कराएपछि
किसानले आवाज कसलाई सुनाउन्?

फाइल फोटो

दु:खेका धेरै आँसुले सरकारलाई नछोएपछि
माइतीघर मण्डलामा पोख्थे
त्यही सरकार मण्डलामा थचक्कै बसेपछि
आँसुले अत्याचारको पीँडा कहाँ पोखुन्?

बाढी पहिरो जाँदा बाटो भत्किए
आश हुन्थ्यो सरकारले बनाउछ
धारामा पानी नआए पाइप फुटे
लाग्थ्यो सरकारले योजनाले जोड्छ
सरकारनै फुटेर मण्डलामा पुगेपछि
त्यो बाटो, त्यो धारा कसले बनाउन्?

नेताहरु नै भन्नुहुन्थ्यो हाम्रो देश
एकदिन त सिंगापुर बन्छ
पानीजहाज, रेल र घर घरमा
ग्यासको पाइप आउछ
सबै सपना मण्डलामा टुटेपछि
जनताले सपना कहाँ देखुन्?

भोकाहरुको भोकको महसुस
माइतीघर मण्डलाले गरिदिन्थ्यो
कोरोनाको खोपको आवश्यकता
माइतीघर मण्डलाले महसुस गर्थ्यो
नेताहरुले यो सबै बिर्सिर सत्ता सम्झेपछि
भोक र कोरोनालाई कसले सम्झिउन्?

डिसेम्बर २७, २०२०,
लस एन्जेलस

कवि राकेश कार्की




Comments

comments

39844