धेद्रे–लेनडाँडा सुरुङमार्ग डिजाइन गर्न काठमाडौँ आइपुग्यो चिनियाँ टोली

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली बुधवार काठमाडौँ आएको छ।

चिनियाँ टोली

कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली काठमाडौँ आएको हो ।

सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनियरसहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो । टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ । कम्पनीको नेपालमा रहेको समूहले स्थान विशेषमा गई यसअघि नै सर्भेको काम शुरु गरिसकेको छ ।

सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने अठोट र तदारुकता देखाएर पोली च्याङ्दाको टोली काठमाडौँ आएको हो । डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सेनाले द्रुतमार्गको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । पहिलो प्याकेज करीब रु २१ अर्ब तीन करोडमा निर्माण गर्ने सम्झौता भएको छ । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा छोटा दुई सुरुङ छन् ।

सम्झौतापत्रमा द्रुतमार्गका तर्फबाट प्रमुख सहायकरथी विकास पोखरेल र निर्माण कम्पनीका तर्फबाट प्याकेज नं १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज नं २ का परियोजना प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम निर्माण कम्पनीलाई ६ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ । आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी नौ क्लष्टरका ठेक्का अघि बढ्ने क्रममा छ । त्यसपछि समानान्तर रुपमा सबै कामले एकै चोटि गति लिने प्रवक्ता पौडेलले जानकारी दिए ।

एशियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्य रुपमा घट्ने छ । ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने द्रुतराजमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा कायापलट ल्याउने अपेक्षा गरिएको छ।

रासस





Comments

comments

Leave a Reply

43174