सुजिता मृत्यु प्रकरण : निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १० : १५ बजेबाट सडक अवरुद्ध गरिएको हो।

फाइल फोटो

असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो।

स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा सवारी तेर्स्याएर विरोध प्रदर्शन गरेका छन् । फरेन्सिक चिकित्सकसहितको टोलीले आज बिहान घटनास्थलको निरीक्षण गरेपछि शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्सलाई पनि स्थानीयवासीले अवरोध गरेका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीसहित सुरक्षाकर्मी रहेका छन्।

घटनास्थलमा रहेकी राप्ती नगरपालिका प्रमुख प्रभा बरालले आफूहरु छलफलमै रहेको बताइन् । शव ल्याउन अवरोध गरेपछि सो स्थलमा नगर प्रमुख बराल पुगेर सहजीकरणमा जुटेकी छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीयवासीसँग छलफल गरेर राजमार्ग खुलाउने प्रयास भइरहेको बताए।

रासस





Comments

comments

Leave a Reply

43416