हराइरहेकी सुजिताको वनमा शव फेला

जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ। आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो।

फाइल फोटो

उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । घटनाको अध्ययनकै लागि शव नउठाइएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तै देखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताउँदै भने, “सूक्ष्म रूपमा त्रुटिरहित ढङ्गले सजगता अपनाउँदै प्रहरीले काम गरिरहेको छ।”





Comments

comments

Leave a Reply

43412