लण्डनमा आमरण अनशनमा बसेका ज्ञानराजहरुको सम्झनामा..

जीवन/अनुभूति

भीम राई –

डिस्ट्रिक्ट लाइनको भूमिगत रेल चढेर वेष्टमिनिष्टर स्टेसन पुग्दा शनिबार दिउँसो ३ बजिसकेको थियो। तारा र म स्टेसनभित्र केहिबेर भौतारिएर बाहिर निस्कने क्रममा डाउनिङ स्ट्रिटको ढोकातर्फ हानिएका थियौं।

त्यसपछि जमिन मुनीदेखि जमिन माथि निस्कने बितिक्कै हाम्रा कदमहरुले पार्लियमेन्ट स्ट्रिटमा डोब बनाउन थालिसकेका थिए । हुनत त्यो स्ट्रिटको प्रयोग ओलिभर क्रमवेलले सन् १६४७ मा बिजय जुलुश निकाल्दा मात्र नभएर चार्ल्स प्रथमलाई कानुनी कारवाहीका लागि लैजाँदा पनि सोहि बाटो प्रयोग भएको थियो।

भूमिगत रेल समात्न वेष्टमिनिस्टर स्टेसन पुग्नै लाग्दा अचानक हाम्रा नयनहरु अन्तिम चोटी पार्लियमेन्ट चोकमा पुगेका थिए। चोकको आँचलमा बाङ्गो लौरो टेकिरहेका बयोबृध्द पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलको भिमकाया शालिक छ। तिनै चर्चिलले दोश्रो विश्वयुध्दको समयमा म केवल गोर्खाहरुसँग, ‘आँसु, पसिना र रगतको,’ भिख मागिरहेको छु भनेका थिए। तर, उनकै बाटो पछ्याएर उनीभन्दा १४ जनापछि प्रधानमन्त्री हुनुभएका बोरिस जोन्सनलाई तिनै गोर्खाहरुले, ‘न्याय, समानता र निबृतिभरण’ को भिख मागिरहेका छन्।

त्यस्तो ऐतिहासिक बाटोदेखि बायाँतिर ढुङ्गा प्रहार गर्यो भने प्रजातन्त्रको जननी राष्ट्रको संसद भवनमा ठक्रक्कै पुग्छ । अरुबेला हुलका हुल पर्यटकहरुले संसद भवनको तस्बिर लिन तछाँड मछाड गरिरहेको त्यहाँ रमाईलो दृश्य देख्न सकिन्थ्यो, तर अहिले कोरोना आक्रान्तले संसद भवन एकदम शान्तमय भएको छ । तैपनि असफल भएका सबै चिजहरुलाई कोरोनाले नै गर्दा भएको हो भनेर दोष दिन म त्यति उपयुक्त्त ठान्दिन, किनभने अहिले भवनको निक्कै ठूलो मर्मत सम्भार भइरहेको स्पष्ट देख्न सकिन्छ । जसले गर्दा संसद भवन थेम्सको काखैमा बसेर मज्जाले आराम गरिरहेकै भएतापनि झन कुरुप रुपधारण गरिरहेको छ।

बेलायती संसद भवनको रुप अहिले जस्तोसुकै अबस्थामा भएतापनि हाम्रो नजरहरु त्यहाँ पुगेर केहिबेर टक्क अडिएको थियो । मैले भवनको दृश्य धित मरिन्जेल मस्तिष्कमा कैद गरिरहँदा ताराको मुन्टो दाहिनेतिर फर्किसकेको थियो । उनको त्यसबेला केवल मुन्टोमात्र त्यसतर्फ फर्केको थिएन पयरहरु पार्लियमेन्ट स्ट्रिटतर्फ अगाडि बढिसकेका थिए । उनको बढदै गरेको कदमहरुलाई साथ दिनका लागि मेरा पयरहरु पनि अतालिदै अगाडि बढ्यो । त्यसरी हाम्रा पाइतालाहरुलाई थोरै अगाडि बढाइ दिने हो भने सडकको बीच भागमा रहेको एउटा स्मारक (सिनेटफ) को सुन्दर दृश्यमा नयनहरु पुगेर बजारिन्छ । आजभन्दा ठीक सय बर्ष अगाडि अर्थात सन् १९२० मा निर्माण भएको तिनै स्मारकमा हरेक बर्षको नोभेम्बर ११ तारिखका दिन ठीक ११ बजे राष्ट्रको (गोर्खा लगायत) ज्ञात अज्ञात सैनिकहरुको सम्झनामा त्यहाँ कुम्भमेला जस्तै लाग्ने गर्दछ।

सैनिक स्मारकलाई बिदाई गर्दै अगाडि बढेका हाम्रा कदमहरु ह्वाइटहल सडकमा पुगेर ठोकिन्छ । तिनै सडकको दायाँ किनारमा एकपटक विश्व विजय प्राप्त गर्न सफल बेलायती रक्षा मन्त्रालयको सैनिक मुख्यालय छ । तर, त्यति विश्वबिख्यात सैनिक मुख्यालयको अनुहार अहिले अलिक मलिन र धुमिल भएको देख्न सकिन्छ, किनभने तिनै मुख्यालयको बक्षस्थलमा आफ्नो ज्यान जोखिममा पारेर ‘न्याय र समानताका’ लागि आमरण अनशनमा बसिरहेका ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्प घलेको सुकोमोल अनुहारहरु देखा पर्दछन् । आमरण अनशन बस्नु भएका तिनै वीर योध्दाहरुले गत शनिबारदेखि आफ्नो जीवन दोश्रोचोटी बेलायत सरकारलाई दान दिइरहेका छन्।

दिउँसोको ४ बजे हामी त्यहाँ पुग्दा ज्ञानराज दाजु रिडिङका स्थानीय पत्रकारहरुसँग घनिभुत अन्तर्वार्तामा ब्यस्त देखिनु हुन्थ्यो । सर्जिकल मास्कले ढपक्क अनुहार ढाकेकी तर अनशनमा बसिरहेका सदश्यहरुप्रति फ्लोरेन्स नाइटेङगलको भूमिका निभाइरहेकी बैनी नैनासँग त्यसबेला मेरो दोश्रोचोटी परिचय हुनपुग्यो । राष्ट्रिय पन्चायतको पूर्व उपाध्यक्षसम्म हुनु भएका श्रध्देय परशुराम राईको खुसे छोरीसँग पहिलो साक्षत्कार चाहिँ १२ बर्ष अगाडि मेरै घर वेल्समा जुवाईसगँ एकरात बासबस्न आइपुगेकी बेला भएको थियो । उनी त्यसबेला वेल्समा रहेको ख्यातिप्राप्त स्कान्डाभेलको मन्दिर दर्शन गर्न जाँदै थिइन्।

तर नैनाको जेठा दाजु ज्ञानराज मेरो पनि साइनोले दाजु नै पर्नुहुन्छ । उहाँसँगको मेरो प्रथम भेट अलिक फरक प्रबृतिको थियो । हुनत हामी एउटै जिल्लाबासी भएपनि मेरो घर बुईपा र उहाँको स्थायी घर नेर्पा हो । अझ यसरी भनौ, म दम्कु र दिखुवा खोलाको पानी पिएर हुर्केको मनुवा हुँ भने उहाँ सावा र साप्सु खोलाको पानी पिएर हुर्केको होनहार गोर्खा अभियन्ता हो। तर पहिले जस्तो हाम्रो गाउँघर अहिले छैन । घरघरको आगँनहरुमा मटरहरुका पाङ्ग्राको डोबहरु भेट्टाइन्छन् । त्यसैले हाम्रा घरहरु एक डेढ घण्टाका दुरीमा भएपनि हाम्रो पहिलो भेटघाट चाहिँ छिमेकी जिल्ला उदयपुरमा भएको थियो।

आजभन्दा ठीक ४० बर्ष पहिले त्रियुगा नदीको किनारमा रहेको फत्तेपुर बजारमा बिकासे चामल बोक्न जाँदा आ-आफ्नो ढाकर र तोक्माहरु रुखको फेदमा फालिराखेर हामी कसोकसो दाजुको नजिकै पुगेको थियौं । उहाँ त्यसबेला एकजना बेलायती सैनिक अधिकृतको पथप्रर्दशक बनेर नदी किनारमा टेन्ट टाँगेर बसिरहनु भएको थियो । हामी जिन्दगीमा प्रथम पटक गोराको अनुहार हेर्न एकदम आतुर थियौं र उनी बसेको टेन्टको नजिकै पुगेका थियौं । तर, बुईपादेखि साँढे तीनदिन हिडेर फत्तेपुर झर्दा मैले शरिरमा उनीरहेको खाडीको दौरा र कट्टु केवल फाटेर धुजाधुजा मात्रै भएका थिएनन् पसिनै पसिना भएर दुर्गन्ध दिइरहेको थियो। तैपनि हामीले दाजुको नजिकै पुगेर तिनै गोराको पहिलो चोटी दर्शन गरेका थियौं।

मैले त्यसदिन ४ दशक अगाडि देखिएको दाजुको मुहार र अनशनमा बसेको ८औं दिनको मुहार निसङ्कोच मान्दै निक्कै लामो समयसम्म तुलना गरिरहेको थिएँ । तर, अचानक मेरो नजिकै उँभिरहेकी बैनीले, “नाना ! गोर्खाहरुको उपस्थिति रेकर्ड पुस्तिका यहाँ छ, कृपया आफ्नो नाम लेखि दिनुहोला है,” भन्दै ताराको सामु पुस्तिका ल्याई दिई । कोभिड १९ को त्रासदीले १८ महिना गुप्तबास बसेर तारासँग प्रथम पटक बेलायतको राजधानी, लण्डन पुगेका थियौं । तर त्यहाँ पुगेर नैना बैनीसँग साक्षत्कार हुँदा म आनन्दित त यसै थिएँ । अझै बैनीले मलाई मात्र नभएर सबै आगन्तुकहरुलाई त्यतिक्कै आतिथ्य सत्कार गरिरहेकी देख्दा किराँती चेलीहरु पनि जापानिज नारीहरु भन्दा एकरती कम नभएको मैले त्यसबेला महसुस गरिरहेको थिएँ।

करिव एक लाख भन्दा उँभो नेपालीहरुको जनसंख्या रहेको बेलायतमा म भन्दा अगाडि २ हजार नेपालीले त्यहाँ पुगेर नाम टिपाइ सकेका थिएँ । २ हजार १ नम्बरमा आफ्नो नाम दर्ता गर्दा यति थोरै सख्याँ देखेर भूतपूर्व गोर्खाहरुलाई मनमनै धिक्कार दिएँ । हुनत आफ्नै करेसाबारीमा खाली बियरको ब्यारेल काटेर बनाइएका अगेनामा भुलभुल उम्लिरहेका बङ्गुरको मासुमा हरियो चोइसामको सब्जि मिसाएर पहिलो गाँस खानै लागेको तिनै हिरण्यकसिपुहरु सामाजिक सन्जालमा ब्यस्त देखिन्छन् । साँच्चि उनीहरुको पहिलो गासले घाँटीदेखि ओरालो लाग्दैगर्दा आफ्नै लागि आमरण अनशन बसिरहेकी प्यारी आमा पुष्प घलेको याद गर्छन् गर्दैनन् होला भनेर केहिबेर गमिरहें । तैपनि हतारहतार आगन्तुक पुस्तिका आफ्नो नाम र थर लेखेर बैनीलाई हस्तान्तरण गरेपश्चात् तारासँग दुईचार कदम अगाडि बढेका थियौं।

तर त्यसरी अगाडि बढिरहँदा थेम्स नदीले बहाएर ल्याएको हावाको मन्द मन्द गतिले हाम्रो अनुहारमा प्रेमपुर्वक भलाकुसारी गरेपनि हाम्रो हृदय जलिरहेकै अवस्था थियो । किनभने ‘गोर्खाहरु ऐतिहासिक अन्यायमा परेका छन्,’ भन्दै बसेका भूतपूर्व गोर्खाहरुको अनशन ८औं दिनमा प्रवेश गरेको थियो र हरेकदिन नयाँ दिन थपिदै थियो । अलिकति अगाडि बढेपछि हावाले फरर उडाइरहेका युनियन ज्याक र नेपाली झन्डाको शितल छहारी मुनि यातायात, आपुर्ती, सिग्नल, इन्जिनियर, पारा र मरिनको ब्यारेट पहिरेर बेलायती भेट्रानहरुले परेड खेलिरहेका थिए । बरु त्यहाँ ‘अधिकार पाउँ’ भन्ने गोर्खाहरुको संख्याभन्दा ‘अधिकार दिउँ’ भन्ने मानिसहरुको संख्या पो धेरै देख्दा लण्डन अब लण्डनरहरुको मात्र नभएर गोर्खाहरुको पनि रहेछ भन्ने भान परिरहेको थियो।

ज्ञानराज दाजु त्यसबेलासम्म ब्यस्त भइरहेकै थिए । त्यसैले तारा र म तिनै सडकको किनारै किनार केहिबेर अगाडि बढिरह्यौं । हामी एकसुरमा सुस्तरी हिडिरहेका थियौ, तर एकछिनपछि अचानक हाम्रा सामु फिल्डमार्शल बर्नाड मोन्टगोमरीको ठूलो शालिकको उदय भइहाल्यो । दोश्रो विश्वयुध्दको भयानक सङ्ग्राममा तिनै जनरल र गोर्खा सिपाहीहरु काँधमा काँध मिलाउदै जर्मनी बिरुध्द लडेका थिए । तर अहिले आएर तिनै जनरलले आफ्नो गोर्खा कमरेडहरुको दुखान्तको, पिरको र अन्यायको कथा सुनेका छन् कि छैनन् होला भनेर मनमनै केहिबेर सोचें।

तर, त्यहाँदेखि थोरै अगाडि बढेर दाहिनेतर्फ मोडिने हो भने ‘हर्सगार्ड एभेन्यु’ को नाकैमा ठोकिइन्छ। तिनै हर्सगार्ड एभेन्युको विशाल छातीमा दुवै हातले ब्यानेट खोलेका राईफल समातिरहेको अमूर्त गोर्खाको शालिक छ । सिरमा बडेमाको छत्रे टोपी र मुनी बेलायती जाङ्गे लगाइरहेको गोर्खा स्मारक कप्तान खेमराज लिम्बूको प्रतिलिपिमा निर्माण गरिएको हो । तिनै गोर्खा स्मारक ३ डिसेम्बर १९९७ का दिन महारानी एलिजाबेथ दोश्रोको बाहुलीबाट उदघाटन भएको थियो । गोर्खाहरुको समस्याको समाधान चाँडै हुनुपर्छ भनेर चौतर्फी दबाब र अनुरोध गर्दा गर्दै पनि बेलायत सरकारले यस विषयमा आधिकारिक धारणा सार्वजनिक नभएको बेला सर राल्फ लिली टर्नरले गोर्खाहरु प्रति त्यहाँ लेखेको, “बहादुरहरुको पनि बहादुर” हरफहरु पढेर हरेक मानव जीवनको हृदय सजिलै पग्लन सक्त्तछन्।

बेलुकीपखको सूर्यले टेन डाउनिङ स्ट्रिटको आकास माथिदेखि नरमाइलो मान्दै बिदाइ गरिरहँदा हामी पुन: अनशन स्थलमा फर्किसकेका थियौं । तिनै प्रधानमन्त्रीको निवासस्थान टेन डाउनिङमा बेलुकी पख ओभनमा पाक्दै गरेको न्युजिल्याण्ड भेडापाठोको फिलाको वासना हावाले अनशन स्थल पुरयाइ रहेको थियो । अ, साँच्चि पाठोको फिला भान्साको टेबलमा छुरीले काटिदै गर्दा र प्रोसेको वाइन गिलासमा सारिदै गर्दा आफ्नो राष्ट्रका लागि लडेका वीर गोर्खा योध्दाहरु ६० मिटर टाढा सडक किनारमा भोकभोकै लडिरहेका छन् भन्ने मनमा लाग्छ कि लाग्दैन होला?

धेरै लामो समयसम्म एकोहोरो टेन डाउनिङ स्ट्रिट हेरिरहे पश्चात् ज्ञानराज दाजुसँग मेरो सगौरव भेटघाट भएको थियो । जिन्दगीभर गोर्खा आन्दोलन लडेर पुरै सेताम्मे केस पकाएका र लगातार आठौं दिनसम्म भोक र प्यासले रन्थनिएर शिथिल हुनुभएको दाजुले, “ल आयौ, तर म धेरै बोल्न सक्त्तिन है,” भन्दा मेरो आँखा भित्रभित्र रसाइ सकेको थियो । अरुबेला त्यतिका धेरै फुर्तिका साथ बोल्ने दाजुको ओरालो लागेको स्वस्थस्थिति देखेर ताराको आँखा केहीबेर खुल्दै र बन्द हुँदै गरिरहेको थियो । मैले दाजुको अनुहार हेरेर त्यसबेला कतिपय बेलायती सांसदहरुले प्रधानमन्त्रीलाई आमरण अनशन बसिरहेका गोर्खाहरुलाई भेट्न र उनीहरुको अभियानलाई समर्थन गर्न आग्रह गरेका निक्कैलामो समयसम्म सम्झिरहेको थिएँ।

अनशन स्थलको सेरोफेरोमा अर्को घण्टा समय बिताएपछि थोरै सहानुभूति सहित हामी बिदा मागेर हिडेका थियौं। भूमिगत रेल समात्न वेष्टमिनिस्टर स्टेसन पुग्नै लाग्दा अचानक हाम्रा नयनहरु अन्तिम चोटी पार्लियमेन्ट चोकमा पुगेका थिए। चोकको आँचलमा बाङ्गो लौरो टेकिरहेका बयोबृध्द पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलको भिमकाया शालिक छ। तिनै चर्चिलले दोश्रो विश्वयुध्दको समयमा म केवल गोर्खाहरुसँग, ‘आँसु, पसिना र रगतको,’ भिख मागिरहेको छु भनेका थिए। तर, उनकै बाटो पछ्याएर उनीभन्दा १४ जनापछि प्रधानमन्त्री हुनुभएका बोरिस जोन्सनलाई तिनै गोर्खाहरुले, ‘न्याय, समानता र निबृतिभरण’ को भिख मागिरहेका छन्।

आखिर जस्ले जे सुकै भनेतापनि बेलायत सरकारले अनशनको गाम्भीर्यलाई ध्यानमा राखी उच्चस्तरीय वार्ता समिति गठन गरेर अविलम्ब वार्ता थाले अन्य कुनै दुर्घटना घटदैन थियो कि ?




Comments

comments

Leave a Reply

44553
%d bloggers like this: