भारतबाट पसेको हात्तीको बथान नफर्किंदा त्रास

भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन्।

सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलले बताए।

भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनि नेपाल पस्ने गर्थ्यो । नेपालले बाहुन डाँगीको तिरिङदेखि काँकडभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको सात वर्षपछि हात्तीको बथान नेपाल पसेको यो पहिलो पटक हो।

हात्तीको प्रवेशविन्दु बाहुनडाँगीमा दुई दशकदेखि क्रियाशील उहाँका अनुसार २०७१ सालयता हात्ती नेपाल पसेका थिएनन् । यसअघि नेपाल पसेका हात्ती बढीमा चार दिनमै भारततिरै फर्किन्थे । “यसपाली एक महिना भइसक्यो हात्तीको बथान भारततिर फर्किएको छैन,” अभियानकर्मी लुइँटेल भन्छन्, “किन फर्किएनन् भन्ने नयाँ खोजको विषय भएको छ । कतै यिनीहरु नेपालतिरै बस्न लागेका त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ।”

उनका अनुसार २० मध्ये १८ एउटै झुण्डमा डुल्ने गरेका र दुई दाह्रे हात्ती भने अलग्गै छन् । बथानबाट लखेटिएका हात्तीलाई “मालजोरिया” भन्ने गरिन्छ । ती दुई हात्ती बथानको छेउछाउ नै डुल्ने गरेका छन् । हाल झापामा १३ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ । ती हात्ती पनि कुनै बेला यसरी नै भारतबाट पसेर यतै बसेको हुनसक्ने लुइँटेलको अनुमान छ । हालै भित्रिएका हात्तीको बथान उत्तरी झापाको मेचीनगर, अर्जुनधारा र कनकाइको वन क्षेत्रमा डुलिरहेका छन् । ती वन क्षेत्रमा हात्तीले रुचाउने जङ्गली अठिया केरा र बाँसको तामाजस्ता आहारा प्रशस्त मात्रामा छ।

नयाँ बथानले अहिलेसम्म मानवीय क्षति नगरे पनि कनकाइको सुकेडाँगीमा एउटा घरपालुवा जनावर मरेको थियो । जङ्गल आसपास मानव वस्तीमा हात्ती डुल्ने गर्दा स्थानीयवासीमा त्रास बढेको छ।

रासस





Comments

comments

44847