मेलम्ची झैँ बगिरहेछ ङाजुको आँशु….

नारायण ढुङ्गाना –

हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन्।

मेलम्ची पहाड यो बर्खा निकै रसायो । थन्किएजस्तो अझै देखिँदैन, चिस्यान बढिरहेकै छ । त्यही पहाडको रसायनले कमेरे माटोको लेदो बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन् । हेलम्बु पहाडले जस्तो ङाजुका आँसुले कसैको बित्याँस पारेको भने छैन । बरु दिनदिनै आफ्नै आँत भने सुकाएको छ।

करिब सय मिटर तल मेलम्ची बगिरहेको छ । यसो हेर्दा लाग्छ मेलम्ची रिसाएको छ । पहिलेभन्दा फरक रङ तर तेजमा बग्दै छ मेलम्ची । छेउछाउका पहरा, लहरा, झार, बुट्यान अनि गेग्रानको लेदोमात्र होइन मेलम्चीले वरपरका घरबस्ती र मानिसलाई नै आफैसँग लगेर गयो यसले । हेलम्बु पहाड फेदमा रहेको गणेशेबगरको सिङ्गो बस्ती मेलम्चीले आफूसँगै कहाँ पुर्यायो कुनै अत्तोपत्तो छैन । करिब ४३ घरको त्यो बस्ती एकै मेसोमा बगर बने । अहिले त्यहाँ एकाध घरका अवशेष देखिन्छन्, तर बस्ती बगरमा परिणत भएको छ।

बगर बीचमा ढलेर आधा पुरिएको पहेँलो रङको घर ङाजुको थियो । घर पुरेको महिना दिन बढी वितिसकेको छ तर उहाँ त्यो घर ठाडिइहाल्छ कि भन्ने आशले हरेक दिन त्यही ढिस्कोमा हेर्न पुग्छिन् । ढलेको घर के उठ्थ्यो ? उठ्दैन । उनको मनले पत्याउन भने मानेको छैन ।

ङाजुजस्तै आफ्नो घर पहिलेजस्तै उठिदिए हुन्थ्यो भन्ने सपना सबै स्थानीयवासी देख्छन् र बिहान–बेलुका घरको निशाना रहेको बगरको परिक्रमा गर्ने गर्छन् । वरपरको वातावरण उस्तै उराठ र सुनसान छ । आवाज छ त त्यही मेलम्चीको एकोहोरो सुस्साहटको । कति मेहनतले सिङारेको घर भक्लक्क ढालेर बगरले पुर्दा उनको अझै आँशु थामिएको छैन । “सर्वस्व गयो मेरो, जे थियो त्यही घर थियो, अब त यही आँशुमात्र बाँकी छ” आँशुका धारसँगै बग्छन् उनका शब्द पनि । कोही नयाँ व्यक्ति पुगेर केही सोध्यो कि मनको घाउ बल्झाउन आएजस्तो लाग्छ ङाजुलाई । मन नलागेपनि यसरी आफ्ना व्यथा पोखेको दुई महिनाभन्दा बढी भयो ।

सात जनाको परिवार उनका श्रीमान् कामी तामाङको दाजुभाइको गरेर ६० मुरी धान फल्ने खेत पनि सँगै थियो । घर छेउमै धान कुट्ने मिल थियो । आर्थिक रुपले सम्पन्न र सुखी थियो ङाजुको परिवार । असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए । अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो ।

“एउटा घर बगाएर कहाँ लग्यो थाहा छैन, अर्को एउटा बगरमा पल्टिएर बसेको छ । मिलबाट निकालेको थोरै चामलले केही दिन जीवन धानियो, अहिले दाताको भरमा चुलो बन्दै छ”, आँशु पुछ्दै उनले दुःख सुनाइन् । मुरीकामुरी धान, मकै र चामलका बोरा सबै मेलम्चीले निल्यो । अहिले त अन्नको सग्लो दाना देख्दा पनि उनको आँखा थप रसाउँछन् ।

परेको बेला अरुलाई सहयोग गर्ने ङाजु अचेल कसले दुइछाक टारिदेला भन्ने आशमा छिन् । कोही नयाँ मान्छे गाउँमा देखियो भने केही ल्याइदिए की भन्ने आशले अगाडि पुग्छिन् । घरखेतै लगेका यहाँका धेरै सम्पन्न भनिएका मानिस पनि सुकुम्वासी बनेका छन् । विपद्ले धनी गरिब नभन्ने रहेछ । जसको घर ठिक छ पूरै पनि खोतलेर बस्न लायक बनाउन सकिन्छ । बनाउन थालेका पनि छन् । जसको घर नै बगाएर बगर बनेको छ उसलाई ठूलो चोट छ ।

उनको घर खोलाको छेउमा भएर बगेको पनि थिएन । खोला अतिक्रमण गरेर बनाइएको पनि होइन । खोला निकै तल घरबाट देखिँदैन थियो । एक्कासि मेलम्ची उर्लेर यसरी माथि आयो की झोलुङ्गे पुलको समेत नाम निशान नै मेटेर लग्यो । अघिल्लो दिन चामल अलिकति निकालेका थिए । मिल र घट्ट उप्काएर राखे, त्यही चामलले सुरुको समयमा छाक टर्यो ।

केही माथि संस्थाले बनाइदिएको अस्थायी टहरामा बसेर उनको परिवार अहिले गुजारा गर्दैछन् । उनले थपिन्, “सङ्घ संस्थाले खाना दिएको छ, त्यही खाएर बस्ने बसिराछौँ, दाताको सहयोग आएन भने भोकै बस्नुपर्छ ।” बाँकी भएको बाँदर खेल्ने पखेरोमा अन्न फल्दैन । अब कसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।

घर बगाएको ठाउँबाट तल गहिरोमा थियो खोला । घरबाट खोला हेर्न सकिँदैन थियो । त्यहाँ ठूलो फाँट पनि थियो । सबै बगर बनेको छ । अस्तिसम्मको घरबस्तीबाटै मेलम्ची आफ्नै तालमा मस्त कुदिरहेको छ । बाढी आएको दिन गाउँमा रोपाइँ थियो । ङाजु रोपाइँ सकेर घर फर्कंदै थिइन् । उनका अनुसार आउँदा आउँदै उतिसलगायतका रुख निकै ठूलो आवाजका साथ गर्लम्मै ढले । कहाँ के भयो ? केही पत्तो भएन । तर एकैछिनमा हेर्दा त माथिको माछा फार्म बगाइसकेको रहेछ । अनि मान्छेको भागभाग भयो । बल्लतल्ल ज्यान जोगियो उनले सम्झिइन् ।

गणेश बगरका स्थानीय राम तामाङका अनुसार असार १ गते साँझ ७ बजे बाढी आएको थियो, त्यसदिन खोला छेउका केही घर लग्यो । पछि १६ गतेदेखि परेको भीषण वर्षाले १७ गते साँझ एक दुई घर मात्रै बाँकी राखेर अन्य ४३ घर लग्यो । त्यसपछि बनेको यहाँको अस्थायी टहरामा तीन समूहमा बाढीपीडित बस्दै आएका छन् । सबै मेसमा खाना खान्छन् ।

उनीहरुले सरकारसँग सबै स्थायी बासको माग गरिरहेका छन् । “बरु एकीकृत बस्ती बनाइदिए हुन्थ्यो, भाडाको जग्गामा यसरी कति दिन बस्ने”, राम तामाङले भने । दिनमा बाढी आएकाले मात्रै त्यहाँ मान्छे जोगिएको उनीहरु सुनाउँछन् । केही अघि उक्त बस्तीको स्थलगत निरीक्षण गरेर फर्किएका गृहमन्त्री बालकृष्ण खाँडले उनीहरुको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् । यसपाली औसतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ । जेठ २८ मा भित्रिएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो । त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो । सुरुवाती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते पुनः भारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहरिएर क्षति भएको हो ।

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ । कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । उनले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाए । यसपाली मेलम्चीको माथिल्लो हेलम्बु क्षेत्रमा खोला किनार कटान गर्दै र पहिरो खस्दै गेगरसहितको अकल्पनीय बाढीले तल्लो तटीय क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको हो ।

अझै लाखौँ टन गेगर अड्किएर बसेकाले तल्लो क्षेत्रमा जोखिम कायमै छ । उता जिल्लाको हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा २२७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको छ । बाढी, पहिरो र डुबानबाट यो वर्ष १३१ जनाको मृत्यु भएको छ भने ४२ जना हराइरहेका छन्।

रासस





Comments

comments

45217
%d bloggers like this: