त्रिमूर्तिमा १३८ औं लेखनाथ जयन्ती सम्पन्न

काठमाडौं, १५ पुस। त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो।

सोही अवसरमा उहाँले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा लेखनाथ पौड्याल काव्यसभाका कार्यक्रम सञ्चालक यादव भट्टराई, बालकृष्ण सम फाउन्डेसनका कार्यक्रम सञ्चालक ललिता दोषी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका कार्यक्रम सञ्चालक भगवती बस्नेतले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हो भन्नुभयो।

कार्यक्रममा यादव भट्टराई, ललिता दोषी, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो ।


लेखनाथ पौडयालको सङ्क्षिप्त परिचय

लेखनाथ पौडयालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । २००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो।

लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पदवीले सम्मान गरिएको थियो।

२०११ सालमा पौडयालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो । गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र सम समेत भएर पौडयाललाई रथारोहण गराइएको थियो।

पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए। ती कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन्। साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो।

२०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन





Comments

comments

47533