लन्डन। युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरु नेपाली दुतावासको पहलमा निस्केका छन्। जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यायगमन विभागले नियन्त्रणमा लिएको थियो।
राजदूत खड्काका अनुसार रुस युक्रेन द्वन्द्व पीडित नेपालीहरु दूतावासको सम्पर्कमा आउन छाडेको जानकारी दिनुभयो।
रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई शनिवार साँझ सम्बोधन गर्दै राजदूत खड्काले केही बिचौलीयाहरुले युरोपका बिभिन्न देशमा रहेका नेपालीहरुलाई भित्र्याउन रसिया–बेलारुस युक्रेन हुँदै युरोप ल्याउन दलालहरु सकृय हुन् सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो।
उहाँले युक्रेनमा रहेका नेपालीहरुको सफलता पूर्व उद्दार गर्न सहयोग गर्ने गैरआवासीय नेपाली संघलगायत अन्य संघसंस्थालाई धन्यवाद दिनुभयो।
खड्काले युद्धमा विस्थापित भएका नेपाली मध्ये ४ जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाएको जानकारी दिनुभयो । भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी ४ जनालाई भारतीय सरकारले उद्दार गरेको हो । नेपाल फर्किएका १० जना मध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन्।
यसैबीच युद्धमा अलपत्र परेका नेपालीहरुलाई जर्मनीस्थित नेपाली दुतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीहरुले यात्रा अनुमति पत्र लिएका छन्।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिनुभयो। उहाँले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आउनु भएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिड्नु भएको जानकारी दिनुभयो।
एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरुलाई खाना बस्नको व्यवस्था गरेको बताउनुभयो।
यस्तै एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिनुभयो । उहाँले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिनुभयो।
एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरुको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन संघ सकृय रहेको बताउनुभयो।
युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन्।
पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन्।