‘दैलो उघारिदिनेसम्म रहेनन्’

काठमाडौं, फागुन २७ – पुकुनगाउँको आङमा घाम लाग्न सकेको छैन। दुई दिनदेखि कुनै घरमा चुलो बलेको छैन। चिम्सा, गहिरा आँखा आँसुले टम्म भरिएका छन्। घरीघरी भित्रैबाट निस्केर आँसुको ढिक्कासँगै बहन्छ पीडा। मुस्कान हराएको ओठ कलेटी परेका छन्। फुंग उडेका अनुहारमा शोक र चिन्ताको रेखा मात्र देखिन्छन्।

असावधानीवश विषाक्त गहुँको रोटी खाएकै कारण सोमबार ६ जना आफन्त गुमाएको तामाङ परिवार शोकको आहालमा चुर्लुम्म डुवेको छ।

पृथ्वी राजमार्गबाट १५–१६ किलोमिटर टाढाको विपन्न गाउँ पुकुन तामाङ बस्ती हो। अहिले यो बस्तीको आँगनमा अनौठौ सन्नाटा छाएको समाचार आजको नागरिक दैनिकको छापेको छ। बाहिरका मान्छेको ओहोरदोहोर र सोधिखोजी सुनिन्छ, गाउँलेको मुख खुल्न भने हम्मेहम्मे छ।

‘मर्ने त मरिहाले, मेरी छोरी (सानीमाया) को काठमाडौंमा औषधि हुन्छ रे त्यसलाई चाहिँ बचाइदिए हुन्थ्यो’ सोमबार ज्यान गुमाउने सन्जबहादुर तामाङकी जेठी बुहारी ठूलीकान्छीमाया तामाङले शोकको भारी र आसा एकैसाथ बिसाइन्। टिलपिल टिलपिल आँखा बोल्दाबोल्दै ढल्किए, अनुहार लछप्पै भिज्यो ।

घुन किराबाट जोगाउन विषादी मोलेर राखिएको गहुँ पिँधेर आफू र परिवारलाई रोटी खुवाएका सन्जबहादुर सहित परिवारका ६ जनाको मृत्यु भएको हो।





Comments

comments

4950