मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे।
‘र्यापरको’ को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका छन् ।
संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ । माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको संरक्षण र विकासलगायत अधिकार स्थानीय तहका क्षेत्राधिकारभित्र पर्दछन् । जनप्रतिनिधिमा इच्छाशक्ति भएमा छोटो समयमै स्थानीय तहले ठूलो फड्को मार्न सक्छन् भन्ने उदाहरण प्रशस्तै छन् । प्रमुखमा निर्वाचित ३२ वर्षीय साहसँग काठमाडौँ महानगरको समग्र विकासका बारेमा राष्ट्रिय समाचार समितिका समाचारदाता अशोक घिमिरे र शर्मिला पाठकले गर्नुभएको कुराकानीको सम्पादित अंश :
काठमाडौँको प्रमुखका रुपमा निर्वाचित हुनुभयो, तपाईंका योजना र प्राथमिकता के–के हुन् ?
शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । विद्यार्थीलाई भर्ना गर्नु अगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौँ ।
पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ । विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ । प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रिया बारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ ।
यसले गुरु र शिष्य बीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँ जाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्छौं । काठमाडौँ उपत्यकाको इतिहास, संस्कृति, सम्पदा, आयुर्वेद, योगध्यानका बारेमा बालबालिकाले सजिलो तरिकाले बुझ्ने गरी पाठ्यक्रम बनाउँछौँ ।
यसले गर्दा भोलिका दिनमा देश तथा विदेशबाट आएका पर्यटकसँग भेट हुँदा बालबालिकाले कला, संस्कृति, इतिहासका बारेमा सम्पूर्ण जानकारी दिन सकून् । उदाहरण भक्तपुरलाई लिन सकिन्छ । भक्तपुर नगरपालिकाका बालबालिकालाई त्यहाँको इतिहास, कला, संस्कृति, बाजागाजा, खानपिनका बारेमा जानकारी छ । प्रत्येक व्यक्ति यहाँको कला, संस्कृति र इतिहासका बारेमा जानकार हुनुपर्छ ।
महानगरले यसअघि बनाएको पाठ्यक्रमले यी विषय समेट्न सकेनन् भन्ने हो ?
यसअघिका पाठ्यक्रमले धेरै कुरा समेट्न सकेको छैन । लिखित रुपमा भए पनि त्यसलाई व्यवहारमा व्याख्या गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । यहाँको कला संस्कृति, सांस्कृतिक वैभवका बारेमा बुझ्न धेरै पुस्तक छन् । तर त्यो विषयलाई व्याख्या गर्नसक्ने जनशक्ति छैनन् ।
प्राविधिक रुपमा पनि शिक्षाको गुणस्तर बढाउने योजना अगाडि सारेका छौँ । मोबाइलमा ‘भिडियो च्याट’ गरेर मात्र अनलाइन कक्षा हुँदैन, यसले शैक्षिक स्तर बढाउँदैन । प्रविधि तीव्ररूपमा परिवर्तन भइरहेको छ । ‘थ्रिडी भिजुअलाइज’ मार्फत उदाहरण देखाउँदै पढाउन थालियो भने विद्यार्थीले सजिलै बुझ्न सक्छन् ।
अहिले शिक्षा भार जस्तो भएको छ । विद्यालय जान गाहे मान्ने अवस्थाको अन्त्य गरी रमाइलो तरिकाले हाँस्दै खेल्दै सिक्ने वातावरण बनाउने हो । साताको एक दिन पाठ्यक्रमभन्दा बाहिर विद्यार्थीलाई रुचि लागेका विषयका बारेमा अन्तरक्रिया गराइनेछ ।
कसैलाई रोबर्ट बनाउन, कसैलाई गीत गाउन, नाच्न, कसैलाई नाटक खेल्न मन पर्ला । साताको एक दिन त्यो अतिरिक्त क्रियाकलाप गरियो भने यसले विद्यार्थीको सम्भावना प्रस्फुटित हुन्छ । शिक्षाको डिग्रीबाहेक अन्य सीप भयो भने आयआर्जनमा पनि सहयोग पुग्न सक्छ । विद्यार्थीलाई आफैँ सक्षम बनाउने हाम्रो उद्देश्य हो ।
पूर्वाधार र विद्यार्थी नभएका सामुदायिक विद्यालयलाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?
पूर्वाधार र विद्यार्थी नभएका विद्यालयलाई ‘मर्ज’ गर्छौं । कतै खेल मैदान छैनन्, कतै पर्याप्त कक्षाकोठा छैनन् । त्यसलाई मर्ज गराएर त्यहाँका विद्यार्थी र शिक्षकलाई व्यवस्थापन गर्न सक्छौँ । सामुदायिक विद्यालयको जथाभावी मर्ज गर्यौं भने निजी विद्यालयलाई प्रश्रय दिएको जस्तो हुन्छ तर आवश्यकताका आधारमा मात्रै मर्ज गर्छौं । निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आउने अवस्था बनाउने हाम्रो चाहना हो ।
‘थ्रिडी भिजुअलाइज’ गरी पढाइने भन्नुभयो, अत्यन्त न्यून आयस्तर भएका बालबालिकालाई कसरी प्रविधिको पहुँचमा पुर्याउनुहुन्छ ?
मोबाइल र प्रविधि विद्यार्थीले किन्ने होइन, त्यो विद्यालयले उपलब्ध गराउँछ । १ देखि १० कक्षासम्म नै ‘थ्रिडी भिजुअलाइज’ गर्ने भनेको होइन । सुरुमा १० कक्षालाई मात्र सकिएला । १० कक्षासम्म आइपुग्दा उनीहरु प्रविधिमैत्री भइसकेका हुन्छन् । विद्यार्थीलाई आउँदैन, सक्दैन भनेको त्यो विद्यार्थीको कमजोरी होइन, त्यो शिक्षकको गल्ती हो । विद्यार्थीले ‘होमवर्क’ गरेन, विद्यार्थी बिग्रियो, समयमा विद्यालय आएन, परीक्षामा उत्तीर्ण हुन सकेन भने त्यो शिक्षकको गल्ती हो । यसमा विद्यार्थी र अभिभावकको कुनै दोष हुँदैन । विद्यालय, विद्यालयको संस्कार र शिक्षक सुधारिनुपर्छ ।
विद्यार्थी असफल भएको अवस्थामा शिक्षकले सजाय भोगेको उदाहरण नेपालमै पनि प्रशस्त छन् । यो झट्ट सुन्दा गलत जस्तो लाग्छ । सुरुआती क्षणमा विद्यार्थीको गल्ती देखाउँदा विद्यार्थीको मनोबल घट्छ । यसले शैक्षिक गुणस्तर बढ्दैन । सबै नराम्रो पक्ष विद्यार्थीलाई थुपारिदिने, अभिभावकलाई गाली गर्ने काम गलत हो ।
बिहानदेखि साँझसम्म बालिबालिका विद्यालयमा हुन्छन्, विद्यार्थीले केही गल्ती गरेको अवस्थामा अभिभावकलाई दोष देखाउन पाइन्छ ? विस्तारै यसलाई संस्कारका रुपमा विकास गरेर लैजानुपर्छ । गुरु र शिष्यको सम्बन्ध कस्तो हुनुपर्छ, कसरी बोल्ने, व्यवहार गर्ने भन्नेबारेमा जानकारी दिनुपर्छ । शिक्षा संस्कारबाट सुरु हुनुपर्छ । हामी महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम भोलिबाट नै हुन्छन् ।
आगामी पाँच वर्षसम्म तपाईंले महानगरको नेतृत्व गर्दा यहाँको शिक्षाको स्तर कस्तो हुन्छ ?
पहिलो कुरा आम मानिसको मनोविज्ञान शैक्षिक पूर्वाधार नै पहिलो शर्त हो भन्नेछ । अभिभावकका तर्फबाट विद्यालयमा लिफ्ट छ कि छैन भन्ने हेर्ने हुन्छ । तर लिफ्टले पढाइलाई कुनै सहयोग गर्दैन । त्यो कुरालाई विस्तारै परिवर्तन गर्दै लैजान्छौँ । विद्यालयको शौचालय, बगैँचामा निकै सुधार गर्न सक्छौँ । कक्षाकोठा र शौचालय अपाङ्ग मैत्री बनाउन सकिन्छ । छात्राका लागि आवश्यक सेनेटरी प्याड लगायतको व्यवस्था गर्न सकिन्छ ।
आन्तरिक सजावट तथा व्यवहारको दृष्टिकोणबाट कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बसौँ बसौँ, पढौँ पढौँ लाग्ने बनाउन सकिन्छ । विद्यालयमा सकारात्मक वातावरण बनाउन आवश्यक बजेट छुट्याउँछौँ र प्रभावकारी अनुगमन पनि गर्छौं ।
स्वास्थ्य सेवालाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?
महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्छौँ । वडा क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशाला राख्छौँ । वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं । कम्तीमा ६ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउँछौँ ।
यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिन्छ । यस्तै पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना छ । क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राख्न सक्यौँ भने ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनसक्छ ।
नागरिक आरोग्यताका लागि विभिन्न स्थानमा उद्यानको निर्माण गर्छौं । उद्यानमा पुगेर शारीरिक अभ्यास गर्न सकिन्छ । शारीरिक सक्रियता मार्फत रक्तचाप र मधुमेह नियन्त्रणमा लिन सहयोग पुग्छ भनेर चिकित्सकहरुको भनाइ छ । उद्यानमा बिहान बेलुकी हिँड्न, कुद्न पायो भने निश्चय नै त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यससँगै सरकारी अस्पतालमा सुविधा बढाउने योजना अगाडि सारेको छु । विशेषज्ञ चिकित्सक यहाँ काम नपाएर विदेशिने अवस्था छ । त्यसलाई रोक्न के कस्ता सुविधा दिने भन्ने बारेमा छलफल गर्नुपर्छ ।
‘टेलिमेडिसिन’ सेवा सञ्चालनमा ल्याएर उहाँहरुलाई अतिरिक्त आम्दानीको वातावरण बनाउन सकिन्छ । सम्पत्ति कर र घरबहाल कर तिर्दा त्यसको केही अंश स्वास्थ्य बीमाको ‘प्रिमियम’का रुपमा लिने र त्यसबाट स्वास्थ्य सुविधा दिन सकिन्छ । त्यसो गर्दा नागरिकलाई कर तिरौँ तिरौँ पनि लाग्ने र स्वास्थ्य सुविधा पनि लिने वातावरण बनाउँछौँ । यसले महानगरवासीलाई कर तिर्न अभिप्रेरित गर्नेछ ।
मेलम्ची आयोजनाले केही हदसम्म काठमाडौँमा पानीको आपूर्ति गरिरहेको छ, यो अझै पर्याप्त छैन, पिउने पानीको पर्याप्ततालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
अहिले भइरहेको ‘बोरिङ’बाट नै खानेपानी उपलब्ध गराउने हो । बोरिङको ‘लेभल’ हामीले बढाउन आकासे पानीको प्रयोग गरी भूमिगत जल सतहलाई ‘रिचार्ज’ गर्नुपर्छ । घरका छतमा परेको पानी पाँच फिट गहिरो खाडल खनेर ग्राभेल राखेर जमिनमुनि पठाउने हो । एउटा घरको आकासे पानी जमिनमुनि पठाउँदा १० वटा घरलाई खानेपानी पुग्छ । यसले बोरिङ गरेको छ उसले अनिवार्य ‘रिभर्स बोरिङ’ गर्नुपर्छ ।
सरकारी कार्यालयमा रिभर्स बोरिङ गराइयो भने आसपासका क्षेत्रमा बोरिङको लेभल बढ्छ । खाली रहेका स्थान, सरकारी कार्यालयका परिसरमा ससाना पोखरी खनेर आकासे पानी जम्मा गर्न सकिन्छ । आकासे पानी पोखरीमा जम्मा गरेर उपत्यकाका नदी नालामा आउने बाढी पनि रोक्न सकिन्छ । यसबाट भूमिगत जल सतहमाथि आउँछ । बोरिङ र इनारको सतह बढ्छ, यसले खानेपानीको समस्या केही हदसम्म कम हुन्छ ।
मेलम्चीको पानी आउँदैछ । पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिँदैछ । मेलम्चीबाहेक दैनिक १३ करोड लिटर पानी जलाधार क्षेत्रबाट आइरहेका छन् । हामीलाई चाहिएको दैनिक ४३ करोड लिटर हो । अब भइरहेको मूलहरुलाई फुटाउने हो । ढुङ्गे धाराको संरक्षण गरी विगतमा झै नियमित पानी आउने बनाउन सकिन्छ । धेरै ढुङ्गेधारामा पुनः मूल फुटाउने योजनामा छौँ । वडा नं १७ मा मात्रै १७ बढी ढुङ्गेधारा छन् । ती ढुङ्गे धाराको मूलमा पोखरी खनेर ढुङ्गे धारामा पानी निकाल्न सकिन्छ । ढुङ्गे धाराबाट जम्मा भएका पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकिन्छ ।
उपत्यकाको फोहर व्यवस्थापन ठूलो चुनौतीका रुपमा रहँदै आएको छ । फोहोरको दीर्घकालीन समाधान कसरी निकाल्नुहुन्छ ?
अहिले नुवाकोटको सिसडोलमा ‘डम्पिङसाइट’ छ । ‘इन्सिनरेटर सेल’ राखेर बञ्चरेडाँडामा बनाइएको नयाँ डम्पिङसाइट अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन । त्यसको अनुगमन महानगर र भौतिक पूर्वाधार मन्त्रालयबाट पनि भएन । त्यसलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्छौं ।
ठाउँ-ठाउँमा इन्सिनरेटर (फोहर जलाउने मेसिन) राखेर फोहोरको मात्रालाई एक प्रतिशतमा झार्न सकिन्छ । स्रोतमा नै कुहिने र नकुहिने गरी फोहोरलाई छुट्याउन सकिन्छ । कुहिने र नकुहिने फोहर एउटै गाडीमा हालेर लैजाने भए नागरिकले किन फोहर छुट्याएर राख्छन् र ? फोहर लिनका लागि हामी दुई प्रकारका गाडीको व्यवस्था गर्छौं ।
सातामा दुई दिन फोहर लिन आउँदा फरक–फरक दिन कुहिने र नकुहिने गाडी पठाउँछौँ । टोलटोलमा कन्टेनर राखिएको अवस्थामा पनि दुई÷दुई वटा कन्टेनर राख्छौँ । स्रोतमा नै फोहोरलाई छुट्याउन सकियो भने कुहिनेलाई जैविक मलका रुपमा प्रयोग गर्न सक्छौँ । नकुहिने फोहोरको त्यहीअनुसार व्यवस्थापन गर्न सकिन्छ । जैविक मललाई राजधानी नजिकका खेतीयोग्य काभ्रेपलाञ्चोक, धादिङलगायत जिल्लामा बिक्री गर्न सकिन्छ ।
उपत्यका आसपासका जिल्लामा रहेका खेतीयोग्य खाली जमिन भाडामा लिने योजना पनि बनाएका छौँ । त्यहाँ खेती गराएर केही व्यक्तिलाई रोजगारी पनि दिन सकिन्छ । यहाँ अवसर छ तर ‘ग्यारेन्टी’ नहुँदा युवा विदेश गइरहेका छन् । महानगरले १२ महिनाको तलब दिने सुनिश्चिता भएपछि युवाले यहीँ काम गर्छन् ।
उब्जाउ भए पनि नभए पनि, बिक्री भए पनि नभए पनि उनीहरुलाई घाटा भएन । खेती गरेर रोजगारी बढाउन सकियो । विदेश नजान र विदेशमा रहेका युवालाई यही तान्न पनि सकियो । नगरवासीलाई स्वच्छ र ‘अर्गानिक’ तरकारी खुवाउन पनि सकियो ।
काठमाडौँको ट्राफिक व्यवस्थापन र अव्यवस्थित ‘पार्किङ’लाई कसरी समाधान गर्नुहुन्छ ?
यसअघि पनि राति १० बजेसम्म सार्वजनिक यातायात चलाइयो । तर रातिसम्म कार्यालय खुलेनन् त्यसो नहुँदा यात्रु भएनन् । हामी कार्यालय समयलाई हेरफेर गर्ने सोचमा छौँ । कुनै कार्यालय मध्याह्न १२ देखि साँझ ७, कुनै अपराह्न २ देखि राति ९ बजेसम्म सञ्चालन गर्न सकिन्छ । रात्रिकालीन सुरक्षाका लागि पहिलो चरणमा महानगर क्षेत्रमा १० हजार सिसिटिभी क्यामेरा जडान गर्छौं ।
नगर प्रहरीलाई सुरक्षा तालिम दिन्छौँ । बेलुका ढिलासम्म कार्यालय खुले भने बेलुका बस चढ्ने यात्रु पनि हुन्छ । हरेक बसमा सिसिटिभी र जिपिएस सिस्टम जडान गर्छौं । टोलटोलमा सिसिटिभी र सडक बत्ती हुन्छन् । प्रत्येक व्यक्ति कहाँ पुगेको छ भनेर जिपिएसबाट ‘ट्र्याक’ गरेर हेर्न सकिन्छ । सिसिटिभी तत्काल खरिद गरेर जोड्न सकिन्छ ।
सिसिटिभीसँगै सार्वजनिक बसमा जिपिएस सिस्टम लगाउन सकिन्छ । कतिपय चोकमा यसअघि नै सिसिटिभी जडान गरिएका छन् । तर प्रभावकारी अनुगमन नहुँदा यसले काम गरे÷नगरेको कसैलाई पनि थाहा छैन । सिसिटिभीसँगै सडक बत्ती पनि जोड्छौँ ।
विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न तपाईंको के सोच रहेको छ ?
विद्युतीय सवारी साधानलाई प्रवद्र्धन गर्न महानगरले पनि लगानी बढाउँछ । अहिले भइरहेका सार्वजनिक यातायातलाई विस्थापित गर्नु हुँदैन । उहाँहरुलाई पनि विस्तारै पुराना सवारी बेचेर नयाँ विद्युतीय यातायात चलाउने वातावरण बनाउनुपर्छ । यातायात व्यवसायीलाई पनि पेट्रोलियम सवारीमा रुपान्तरणका लागि समय दिनुपर्छ ।
सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र विश्वासिलो कसरी बनाउने ?
महानगर र निजी क्षेत्रका यातायात व्यवसायीले सञ्चालनमा ल्याउने बस एउटै क्षमताको हुनुपर्छ । एउटै छाता सङ्गठन हुन्छ । जसले लगानी गरेपनि एउटै ‘कार्ड’ हुन्छ । त्यो कार्डमा यात्रुले आवश्यकताअनुसार ‘रिचार्ज’ गर्नेछन् । महानगरको छाता सङ्गठनभित्रका जुनसुकै बस, जुनसुकै रुटमा यात्रा गर्न पाइन्छ ।
यस्तो ‘मोडल’ छिमेकी चीन, भारतलगायत विकसित मुलुकमा छ । एउटै छाता सङ्गठन भएपछि यात्रु कुरेर बस्नु परेन । अहिले काठमाडौँमा जाम हुनुको मुख्य कारण यात्रु कुरेर चोकमा बसिरहनु पनि हो । प्रतिस्पर्धा नभएपछि ती बसहरु निरन्तर चलिरहन्छन् । त्यसले गर्दा सडकमा सवारी चाप हुँदैन ।
सडकहरू साइकल मैत्री भएनन् भन्ने गुनासो पनि छन् नि ?
सडकको किनारामा हरियो रङ लगाएर मात्र ‘साइकल लेन’ हुँदैनन् । साइकलका लागि मुख्य सडकभन्दा बाहिर छुट्टै लेन हुनुपर्छ । बीचमा बगैँचा हुनुपर्छ । काठमाडौँका सडकमा छुट्टै साइकल लेन बनाउन सम्भव छैन । सडक साना छन् । साइकल लेन छुट्याउँदा सडक झन् साँघुरो हुन्छ । सैद्धान्तिक कुरा गरेर भएन, व्यावहारिक छ कि छैन भनेर पनि हेर्नुपर्छ । काठमाडौँमा ट्र्याम, ट्रलीबस, मोनोरेल सम्भव छैन । बाहिरी चक्रपथ बनाउँदा छुट्टै साइकल लेन बनाउन सकिन्छ ।
पूर्वाधार निर्माणमा विभिन्न निकायबीच समन्वय नहुँदा नगरवासीले सास्ती खेप्नु परिरहेको छ नि ?
सडक विभागले सडक बनाउँछ । सडकको निश्चित ‘डेन्सिटी’, ‘टेम्प्रेचर’ र ‘कम्प्याक’ हुन्छ । यसको अनुगमन महानगरले गर्छ । म आफैँ पनि इन्जिनियर हुँ, म पनि जान्दछु । डेन्सिटी पुगेन भने फेरि पेल्न लगाउन सकिन्छ । काम भइरहेको स्थानमा अनुगमन भइरहेको छैन । सडकमा ढलान गरियो तर ढलानमा प्रयोग गरिएका सामग्रीको गुणस्तर कस्तो छ ?
निर्माणकर्ताले जस्तो प्रतिवेदन दियो त्यसलाई मान्ने गरिएको छ । अब त्यस्तो हुँदैन, सडकमा कस्ता सामग्रीको प्रयोग गरिएको छ, पहिले त्यो महानगरको प्रयोगशालामा परीक्षण हुन्छ । अनुगमनलाई प्रभावकारी बनाउँछौँ । बाटामा हुने खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’को व्यवस्था गर्नेछौँ ।
हरियाली शहरी सौन्दर्यको अनिवार्य शर्त हो, महानगरलाई हराभरा बनाउन के गर्नुहुन्छ ?
प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोपिन्छ । हरेक घरमा कम्तीमा एउटा रुख हुनुपर्ने व्यवस्था छ तर त्यसको कार्यान्वयन भएको पाइँदैन । महानगरले कर तिरे बापत नागरिकलाई फल दिने बिरुवा उपलब्ध गराउँछ । फल दिने रुख भए पो नागरिकले त्यसको संरक्षण गर्छन् । त्यसबाट उत्पादन भएको फल खान पनि पाउँछन् ।
त्यसलाई अनिवार्य बनाउन महानगरले नीतिगत निर्णय नै गर्छ । महानगर क्षेत्रमा करिब ४५ खाली स्थान छन् । त्यसलाई विभिन्न प्रयोजनका लागि सदुपयोग गर्न सकिने गरी विकास गर्छौं । यसले महानगर क्षेत्रलाई हराभरा बनाउन मद्दत पुर्याउँछ । हामीले ‘भर्टिकल गार्डेन’को पनि सोच राखेका छौँ । सरकारी कार्यालयमा खाली रहेका जग्गामा पोखरी खन्न र रुख रोप्न आग्रह गर्दछौँ ।
‘होर्डिङ बोर्ड’ र तारको व्यवस्थापन गर्न सकिँदैन ?
होर्डिङ बोर्ड र तारको व्यवस्थापनसम्बन्धी छुट्टै नियम छन् । त्यो कार्यान्वयन नभएको हो । अब हामी त्यसलाई कडाइका साथ कार्यान्वयन गर्छौं ।
सार्वजनिक शौचालयको उचित प्रबन्ध नहुँदा नागरिक छन् । यसलाई कसरी समाधान गर्नुहुन्छ ?
सरकारी कार्यालयले चर्चेको केही जग्गा लिएर महानगरको लगानीमा सार्वजनिक शौचालय बनाउँछौँ । कार्यालयसँग सहकार्य गरी ‘कम्पाउन्ड’ को पर्खाल भत्काएर थोरै जग्गामा शौचालय बनाउन सकिन्छ । सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था गर्न हामीले नगरभित्र रहेका रेस्टुरेन्टसँग पनि छलफल गरेका छौँ । रेष्टुरेन्टको शौचालयलाई पनि सर्वसाधारणले प्रयोग गर्न सक्ने बनाउँछौँ ।
त्यसबापत उहाँहरुलाई करमा केही छुट दिन सकिन्छ । त्यस्ता रेष्टुरेन्टमा विशेष प्रकारका सङ्केत राखिनेछ । त्यस्तो सङ्केत राखेको स्थानमा कसैसँग अनुमति नलिइ शौचालयको प्रयोग गर्न सकिन्छ । काठमाडौँ महानगरले यस्तो संस्कार विकास गरेपछि त्यो देशव्यापी हुन्छ । यसले रेष्टुरेन्टको व्यापार वृद्धिमा पनि सहयोग पुर्याउँछ ।
काठमाडौँको कला, संस्कृति, यहाँको सांस्कृतिक वैभवलाई कसरी अगाडि बढाउनुहुन्छ ?
कला, संस्कृति, सम्पदा र सभ्यतालाई जीवन्त राख्न कुनै कसर बाँकी राख्ने छैन । यसका लागि हामीले भक्तपुर नगरपालिकासँग विभिन्न चरणमा छलफल गरेका छौँ । यहाँको काष्ठकला, मूर्तिकलाको संरक्षणका लागि दक्ष जनशक्तिको उत्पादन गर्न तालीम केन्द्रको व्यवस्था गर्नेछौँ । काठमाडौँका प्राचीन कला, संस्कृतिको संरक्षण गर्न ‘अरनिको’ नै चाहिन्छ भनेर मैले पैरवी गर्दै आएको छु ।
म आफैँले पनि लिच्छविकालीन, मल्लकालीन इतिहासका बारेमा गहिरो अध्ययन गरेको छु । संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्छ । पर्यटन, कला, संस्कृति, सम्पदा संरक्षणको क्षेत्रमा बजेट बढाउने सोचमा छौँ । यसले नागरिक र देशको आर्थिक अवस्थालाई नै सकारात्मक प्रभाव पार्दछ । यहाँ स्वतन्त्ररुपमा प्रमुखमा निर्वाचित हुनुभयो तर तपाईंका साथीहरु
दलीय प्रतिनिधित्वका साथ प्रस्तुत हुनुहुन्छ होला । कसरी समन्वय गर्नुहुन्छ ?
मलाई सबै पार्टीका नेता कार्यकर्ता तथा जनताले मत दिनुभएको हो । पार्टीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका व्यक्तिले पनि मलाई मत दिनुभएको छ । उहाँहरुले काम गर्न नदिने, सहयोग नगर्ने भन्ने प्रश्न नै आउँदैन । सबै मेरो ‘सपोर्ट’मा हुनुहुन्छ । सबै पार्टीका शीर्ष नेता तथा प्रतिस्पर्धी सबैले मलाई टेलिफोन गरेर सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामी कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण नै गर्नेछौँ । जनताको पक्षमा काम गर्न कसले नमान्नु होला र ?
अन्त्यमा केही भन्नु छ कि ?
मलाई काठमाडौँ महानगरबासीले मत दिएर र देशभरका नागरिकले शुभकामनाका साथ नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरुको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन । एकलो प्रयासले मात्रै विकास सम्भव हुँदैन ।
त्यसैले काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकासँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ । हामीले राजधानीलाई नमूना बनाउन सकेमा देशका अन्य पालिकाहरुलाई पनि प्रेरणा हुनेछ । विगतबाट पाठ सिक्दै भविष्यलाई परिणाममुखी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने नै छ ।
रासस