कोलम्बो, श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताउनुभएको छ।
“राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद् सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित गर्न आमन्त्रित गरिनेछ,” सभामुख अबेयवार्देनाले एएनआईसँग भन्नुभयो।
आन्दोलनकारीको निरन्तरको दवावलाई साम्य पार्ने प्रयासस्वरूप सम्बोधन गर्दै एबेयवार्देनाले जुलाई १४ देखि राष्ट्रपतिले कानुनी रूपमा आफ्नो कानुनी कर्तव्य र जिम्मेवारीबाट राजीनामा दिएको बताउनुभयो।
उहाँले संसदद्वारा नयाँ राष्ट्रपति निर्वाचित गर्ने टुङ्गो नलागेसम्म श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्हेलाई अन्तरिम राष्ट्रपतिको रूपमा शपथ दिइने पनि बताउनुभयो।
श्रीलङ्काको संविधानको धारा ४० तथा १९८१ को विशेष प्रावधानको ऐन नं. २ का बमोजिम राष्ट्रपति चयन गरिने अबेयवार्देनाले बताउनुभयो।
उहाँले थप्नुभयो, “यो प्रक्रिया सफलतापूर्वक र छिटो पूरा गर्ने मेरो मनसाय हो । प्रजातान्त्रिक परम्परालाई पवित्र राख्ने दक्षिण एसियाली क्षेत्रको सबैभन्दा पुरानो प्रजातन्त्र भएकाले यो प्रक्रियालाई पारदर्शी र प्रजातान्त्रिक ढङ्गले पूरा गर्नु श्रीलङ्काको इतिहासमा मात्र नभई विश्वको प्रजातान्त्रिक इतिहासमा पनि एउटा कोसेढुङ्गा हुनेछ।”
उहाँले यस लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्न पार्टीका नेता, राज्य पदाधिकारी र सुरक्षाकर्मीबाट सहयोगको लागि अनुरोध गर्नुभयो।
एबेयवार्देनाले भन्नुभयो, “शान्तिपूर्ण वातावरण सृजना गर्नका लागि श्रीलङ्काका हाम्रा सम्मानित र प्रिय नागरिकहरूलाई मेरो विशेष अपिल छ । यसले संसद्का सबै सदस्यहरूलाई स्वतन्त्रतापूर्वक संसदमा उपस्थित हुन र आफ्नो अन्तस्करणअनुसार कार्य गर्न अनुमति दिनेछ।”
सात दिनभित्र राष्ट्रपतिको निर्वाचन प्रक्रियालाई निष्कर्षमा पुर्याउने लक्ष्य रहेको सभामुखले प्रस्ट पार्नुभयो।
यसैबीच सिङ्गापुरको परराष्ट्र मन्त्रालयले राजपाक्षलाई निजी भ्रमणमा सिङ्गापुर प्रवेशको अनुमति दिएको पुष्टि गरेको छ । मन्त्रालयले भनेको छ, “उहाँले शरण माग्नुभएको छैन । शरण दिइएको पनि छैन।”
माल्दिभ्सबाट बिहीबार साँझ साउदी एअरलाइन्सको उडानमा सिङ्गापुर पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
राजपाक्ष र उहाँकी पत्नी सिङ्गापुरमै रहने र मध्यपूर्वतर्फको थप यात्रा नगर्ने बताइएको छ।
यसअघि विभिन्न सञ्चारमाध्यमद्वारा सार्वजनिक समाचारमा साउदी एअरलाइन्सको विमान एसभी–७८८ सिघ्गापुर पुगेका श्रीलङ्काका राष्ट्रपति र उहाँकी पत्नी साउदी अरबको जेदा जाने रिपोर्ट गरिएको थियो।
जुलाई ९ मा प्रदर्शनकारीको भीडले राष्ट्रपतिको निवासमा आक्रमण गरेपछि ७३ वर्षीय राजपाक्ष देशको कुनै स्थानमा लुकेर बस्नुभएको थियो । यसपछि राजपाक्ष आफ्नी पत्नीसँगै सुटुक्क माल्दिभ्सतर्फ जानुभएको थियो । उहाँले गत बुधबार आफ्नो राजीनामा पत्र हस्तान्तरण गर्ने घोषणा गर्नुभएको थियो।
उहाँको अनुपस्थिति र राष्ट्रपति पदबाट राजिनामापछि मुलुकको संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई श्रीलङ्काको अन्तरिम राष्ट्रपति नियुक्त गरिएको थियो।
शनिबार फोर्टस्थित राष्ट्रपति भवनमा हजारौं प्रदर्शनकारी प्रवेश गरी कार्यालय कब्जा गरेपछि राजपाक्ष त्यहाँबाट सुरक्षाकर्मीको सहयोगमा भागेर सुरक्षित स्थानमा जानुभएको थियो । प्रधानमन्त्री रनिल विक्रमसिङ्घेसमेतले जारी विरोधका बीच आफ्नो पदबाट हट्ने घोषणा गर्नुभएको छ। रासस / एएनआई