दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिँदै

लण्डन, बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयाको सोमबार अन्त्येष्टि गर्न लागिएको छ। बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका छ।

तस्बिर : एपी

अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्षनेता तथा विशिष्ट व्यक्तिको उपस्थिति हुने अपेक्षा गरिएको छ । तीमध्ये करिब पाँच सय जना विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष व्यक्तिहरू हुनेछन्।

विभिन्न देशबाट आएका पाहुनाहरूका लागि बेलायतका नयाँ राजा चार्ल्सले आइतबार साँझ बकिङ्गम दरबारमा स्वागत समारोहको आयोजना गर्नुभएको थियो । विभिन्न देशबाट पाहुनाहरू आएकै बेला आइतबार साँझ ८ बजे बेलायतभरि राष्ट्रिय शोकका रूपमा मौन धारण गरिएको थियो।

विभिन्न देशका पाहुनाहरू र बेलायती बासिन्दासहित लाखौँले गत सातादेखि नै उहाँको शवमा श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली दिनका लागि गत हप्ताभर नै शव राखिएको ठाउँमा ठूलो सङ्ख्यामा लामबद्ध भएकाहरूको भीड लागेको थियो।

बिहान ११ बजेपछि भने लामबद्ध भएर श्रद्धाञ्जली दिने क्रम रोकेर अन्त्येष्टिको अन्य प्रक्रिया सुरु गरिने भएको छ।

महारानीको शव पेटिकालाई वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गर्दै लगिने तय भएको छ। शवयात्रामा राजा चार्ल्ससहित राजपरिवारका अन्य सदस्यहरू वरीयताक्रम अनुसार लामबद्ध भइ हिँड्नुहुनेछ।

शवयात्राका क्रममा सैन्य कर्मचारी र प्रहरीले लाइन लागेर हिँडाएको लाममा हरेक एक मिनेटको फरकमा बिग बेनले घण्टी बजाउनेछन् । त्यसैगरी हाइड पार्कबाट प्रत्येक मिनेटमा तोपको सलामी दिइनेछ र मानिसहरूले तोकिएका क्षेत्रहरूबाट व्यक्तिगत रूपमा शवयात्रा हेर्न र महारानीलाई अन्तिम श्रद्धाञ्जली दिनसक्ने व्यवस्था मिलाइएको छ।

शवयात्रा वेलिङ्टन आर्चमा लगभग दिउँसो १ बजे पुग्ने गरी तालिका बताइएको छ । त्यसपछि उहाँको शवलाई तोकिए बमोजिमको ठाउँमा समाधिस्थ गराइनेछ । समाधिस्थलमा भने निश्चित व्यक्तिहरू मात्रै सहभागी हुने भएका छन्।

अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई निमन्त्रणा गरेको थियो।

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायतसहित धेरै देशमा राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो। रासस/एएनआई





Comments

comments

57910