भूकम्पपीडितलाई सबैभन्दा धेरै सहयोग हङकङबाट

हङकङ, मकाउ, चीन र तिब्बतबाट मात्र प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा भूकम्प पीडितहरूको सहयोगार्थ १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ। यसमध्ये कतिपय रकम सीधै कोष र केही सम्बन्धित दूतावासमार्फत पठाइएका हुन्।


अर्बपति व्यवसायी ली का सिङ। फाइल फोटोः @t_c_concierge

हङकङ र मकाउ चीनकै विशेष प्रशासनिक, तिब्बत स्वशासित क्षेत्र हो। नेपालसहित विश्वभरबाट सोमबारसम्म कोषमा ५ अर्ब ५५ करोड जम्मा भएको छ। यसमध्ये १ अर्ब ६ करोड ८८ लाख हङकङ र मकाउबाट मात्र संकलित भएको हो। कान्तिपुर दैनिकमा निर्मल श्रेष्ठ लेख्छन्। हङकङ सरकारले ५ करोड हङकङ डलर (६६ करोड २० लाख रुपैयाँ) र मकाउले २ करोड पटाका (२५ करोड ३० लाख रुपैयाँ) सहयोग गरेका छन्।

हङकङले प्रदान गरेको उक्त रकम कोषमा जम्मा भएकामध्येकै सबैभन्दा ठूलो हो। विदेशी दाताको सूचीमा ३० करोड ६० लाख दिने एसियन डेभलपमेन्ट बैंक दोस्रो र मकाउ तेस्रोमा छन्।

हङकङ र मकाउबाटै करोड बढी सहयोग गर्ने दाता अरू पनि छन्। अर्बपति व्यवसायी ली का सिङ एक्लैले आफ्नो फाउन्डेसनका तर्फबाट १० लाख अमेरिकी डलर (१० करोड ७ लाख रुपैयाँ) र राजनीतिक दल डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (डीएबी) ले १० लाख २ हजार १ सय ३३ हङकङ डलर (१ करोड ६१ लाख २६ हजार रुपैयाँ) उपलब्ध गराएका हुन्।





Comments

comments

Leave a Reply

6196