आज तमु ल्होछारः राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन्। 

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा तमुल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरिएको छ।

सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वावस लिएको छु ।”

तमुल्होसारका दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।

नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको सन्देशमा उल्लेख छ ।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएका अवसरका रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धुमधामसँग मनाउने गरिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् ।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताए ।

उनले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सदुढ हुने विश्वास लिएका छन् । ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

रासस





Comments

comments

64163