काठमाडौं, वैशाख २८ – पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले भूकम्पले घर भत्काएका परिवारलाई अस्थायी बसोबासका लागि १३ हजार रुपैयाँमा निर्माण गर्न सकिने घरका नमुना तयार पारेका छन्।
फोटो :फाइल तस्बिर
क्याम्पस परिसरमा यस्ता घरका नमुना हेर्न अहिले दैनिक सयौं मानिस आउने गरेका छन्। अवलोकनमा आउनेले घरको अर्डरसमेत गर्ने गरेका छन्। ‘आश्रय’ नाम दिइएका यस्ता घर निर्माणमा संलग्न आर्किटेक इन्जिनियर कुमार योञ्जनले भने, ‘भूकम्पबाट घरवारविहीन भएकालाई यस्तो घर उपयुक्त विकल्प हुने अपेक्षा गरेका छौं।’
थोरै लगानीमा र थोरै जनशक्तिबाट निर्माण हुने भएकाले घर निर्माणको माग गर्नेहरूको संख्या बढ्न थालेको उनले बताए।यस्ता घर बनाउँदा जस्ता पाता, फलामका पाइप, इट्टा, ढुंगा वा स्थानीय स्तरमा उपलब्ध हुने अन्य सामग्री प्रयोग गर्न सकिन्छ।
आठजनाको समूहमा रहेका विद्यार्थीले बनाएका घर निर्माण सम्पन्न हुँदा १३ हजार रुपैयाँ खर्च लाग्छ। यति लागतमा १२ बाई ८ साइजको घर निर्माण हुन्छ। ‘स्थानीय स्तरमा उपलब्ध हुने ढुंगा तथा माटो र घर धनी आफैंले श्रम गर्ने हो भने लागत अझ घट्न सक्छ’, योञ्जनले भने।
घरको धुरीमा जस्तापाता लगाइन्छ। जस्ताको तापका कारण बस्न कठिन हुने भएकाले जस्ता माथि खर, गहुँको छ्वाली वा अन्य कुनै सामग्री राख्न सकिन्छ।
यस्ता घर बनाउन चाहने व्यक्ति वा संस्थालाइ नि:शुल्क परामर्श दिने विद्यार्थीहरूले बताए। ‘एकैपटक धेरै घरको माग आयो भने ग्रामीण भेगमा गएर अन्य प्राविधिक सहयोग पनि गर्छौं’, योञ्जनले भने।
राष्ट्रिय योजना आयोगका पदाधिकारी, सभासद्लगायत विभिन्न क्षेत्रका व्यक्तिले पनि घरको नमुना हेरेर गएको योञ्जनले बताए। आइतबार पनि गायक प्रमोद खरेल, नायिका केकी अधिकारीलगायतका कलाकारले भूकम्पपीडितका लागि वस्ती बसाल्न यस्ता घर निर्माण गरिदिन आग्रह गरेका थिए।
‘प्रिफेब्रिकेटेड हाउस’
भूकम्पले घर ध्वस्त भएका स्थानमा बस्ती बसाल्न सहज होस् भनेर काठमाडौं विश्वविद्यालयले एक ठाउँमा बनाएर अर्को स्थानमा जडान गर्न मिल्ने घरको नमुना तयार गरेको छ।
विश्वविद्यालयले यस्ता घरलाई ‘प्रिफ्रेब्रिकेटेड हाउस’नाम दिएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ। विश्वविद्यालयका रजिस्ट्रार भोला थापाका अनुसार विश्वविद्यालयले मेकानिकल इन्जिनियरिङ विषय अध्ययनरत विद्यार्थी र विश्वविद्यालयकै प्राध्यापकको अगुवाइमा यस्तो घरका नमुना तयार गरेको हो।
‘यसअघि घरका नमुना मात्र बनाएका थियौं। घरको माग नआएकोले बनाउन पाएका थिएनौं। घर बनाउन सजिलो हुने भएकाले अब यसको माग आउन सक्छ’, थापाले भने, ‘यो नमुनाअनुसार अहिले मानिसले फर्निचर पसलबाट पलङ किनेर घरमा जसरी फिटिङ गर्छन् यो घरको संरचना पनि यस्तै हुन्छ। आवश्यकताअनुसार जता पनि लैजान सकिन्छ।’
उनका अनुसार यस्ता घरको आयु भने तीन वर्षभन्दा धेरै हुँदैन। ‘यो स्थायी घर होइन। तर तत्काल घर बनाउन नसक्नेलाई अस्थायी बासस्थान बनाउने उपयुक्त तरिका हो’, थापाले भने।
यस्ता घर बनाउँदा जस्ता, बाँस, फलामलगायत स्थानीय स्तरमा उपलब्ध अन्य सामग्री प्रयोग गरिन्छ। घर बनाउन चाहनेलाई नि:शुल्क प्राविधिक सहयोग दिइने थापाले बताए।